क्यानडामा अक्टोबर महिनामा पनि विदेशी यात्रुलाई निषेध
देशका सार्वजनिक सुरक्षा मन्त्री बिल बलैरद्धारा जारी वक्तव्यमा विदेशहरुलाई यही अक्टोबर ३१ सम्म आउन नदिने निर्णय भएको उल्लेख छ । यस्तो प्रतिवन्ध अमेरिकी देश बाहेकका देशबाट आउनेहरुलाई मात्रै लगाइएको पनि बलैरले स्पष्ट पारेका छन् । उनका अनुसार यस्तो प्रतिवन्ध अस्थायी हो ।
कोरोनाभाइरसको सङ्क्रमणको खतरा कम भएपछि खुल्ला गरिने उनको भनाई छ । मन्त्री बलैरले अस्थायी कामका लागि आउन लागेका र कूटनीतिक अधिकारीहरुलाई पनि संघीय सरकारले आउनका लागि अनुमति दिन भने सक्ने स्पष्ट पारे । क्यानाडामा विदेशबाट आउनेहरुका लागि अहिले पनि क्वारेन्टाइन सम्वन्धी कडा व्यवस्था कायमै छ । यस्तो व्यवस्था गत मार्च ५ तारिखदेखि लागू भएको हो ।
क्वारेन्टाइन सम्वन्धी कानुनी व्यवस्था उलंघन गर्नेलाई दण्ड र जरिवानाको पनि व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन् । उनीहरुलाई छ महिनासम्म कारावास सजाय हुन सक्ने व्यवस्था गरिएको छ । कोरोनाभाइरस महामारीबाट प्रभावित देशहरुको सूचीमा क्यानडा २६ औँ क्रममा छ ।
क्यानडामा अहिलेसम्म एक लाख ५८ हजार ७५८ जना सङ्क्रमित भएका छन् । ती मध्ये अहिलेसम्म नौ हजार २९७ जनाको मृत्यु भएको छ ।