पर्यटकलाई लक्षित गर्दै दिवा तथा रात्रिकालीन सेवा



देशदर्शन बससेवा प्रालिले सुरु गरेको दिवा तथा रात्रिकालीन बस सेवा । प्रालिले झण्डै १२ करोडको लगानीमा १६ बस सञ्चालनमा ल्याएको छ । तस्बिर- अच्युत रेग्मी, रासस
काठमाडौं । देशदर्शन बस सेवा प्रालिले दिवा तथा रात्रिकालीन पर्यटकलाई लक्षित गरेर बस सेवा शुरु गरेको छ । पछिल्लो समय विश्वव्यापीरूपमा फैलँदै गएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा समेत बढ्दै गएपछि झण्डै छ महिना लामो बन्दाबन्दी र निशेषधाज्ञाले बन्द रहेको यातायात क्षेत्रमा पर्यटकलाई लक्षित गरेर दिवा तथा रात्रिकालीन सेवा शुरु गरिएको हो ।
यसअघि दिवा सेवामार्फत पर्यटकलाई गन्तव्यस्थलमा पुर्याउँदै आएका बाबा एडभेन्चर ट्राभल्स, बेन्चमार्क ट्राभल्स र दीपज्योति एडभेन्चर ट्राभल्सले देशदर्शन बस सेवा प्रालिमार्फत १६ वटा पर्यटक बसले पर्यटकलाई दिवा तथा रात्रिकालीन सेवा प्रदान गरेका हुन् । झण्डै रु १२ करोडको लगानीमा शुरु भएको बससेवा असोज १ देखि नै शुरु भइसकेको छ ।
प्रालिका अध्यक्ष श्रीकान्त आचार्य मुख्यमुख्य पर्यटकीयस्थललाई लक्ष्य गरेर दिवा तथा रात्रिकालीन बससेवा सञ्चालन गर्न लागेको बताउंछन् । “कोभिड–१९ पछि पर्यटकीय बस पूर्णरूपमा सुरक्षित भएको महसुस गराएर बससेवा सञ्चालन गरेका छौँ”, उनी भन्छन् ।
आन्तरिक तथा बाह्य पर्यटक बस चढ्नुअगाडि शरीरको तापक्रम मापन गर्ने, चालक, सहचालक यात्रुलाई मास्कको अनिवार्य व्यवस्था गर्ने, बसभित्र स्यानिटाइज गर्नेलगायतका सम्पूर्ण व्यवस्था मिलाइएको अध्यक्ष आचार्यले बताए ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर तयारी थाले पनि कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण स्थगन गरिएको थियो । देशदर्शन बस सेवा प्रालिले काठमाडौँ–पोखरा दिवा तथा रात्रि, काठमाडौँ–जनकपुर रात्रि, काठमाडौँ–वीरगञ्ज रात्रि, काठमाडौँ–लुम्बिनी दिवा तथा रात्रि, काठमाडौँ–चितवन दिवा, चितवन–पोखरा दिवा र काठमाडौँ–मुक्तिनाथ दिवा सेवामार्फत पर्यटकलाई सेवा प्रदान गर्न लागेको प्रालिका सञ्चालक प्रह्लाद लोहनी बताउंछन् । उक्त बससेवा काठमाडौँको बौद्धबाट शुरु भएर अन्त्यमा सोह्रखुट्टे भएर छुट्नेछ ।
हाल काठमाडौँदेखि मुख्य पर्यटकीयस्थललाई लक्ष्य गरेर झण्डै १०० पर्यटकीय बसले सेवा प्रदान गर्दै आइरहेका छन् । हाल काठमाडौँको सोह्रखुट्टे सडकबाट पर्यटकलाई बोकेर पर्यटक बस पोखरा, चितवन, लुम्बिनी र जनकपुर ओहोरदोहोर गर्दै आएका छन् । पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा समस्यासमेत परेको व्यवसायी बताउँछन् । व्यवसायीले हाल बिहान ५ देखि ७ बजेसम्म सोह्रखुट्टेको सडकमा पर्यटक बस पार्किङ गरेर यात्रु बोक्दै आएका छन् । रातको समयमा भने ग्यारेजमा शुल्क तिरेर राख्नुपर्ने बाध्यता छ ।
कोभिड–१९ को सङ्क्रमणभन्दा पहिला पर्यटक बसले दैनिक झण्डै तीनदेखि चार हजार हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकलाई गन्तव्यस्थलमा पुरयाउँदै आएका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५