बेलायतमा कोरोना संक्रमित अप्रिल पछिकै उच्च
२४ घन्टामा ११ संक्रमितको मृत्यु


लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा थप ४ हजार ३ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । यो संख्या अप्रिल २० पछिको सोमबार सार्वजनिक तथ्याँकमा सबैभन्दा बढी हो ।
यसैगरी गएको २४ घन्टामा ११ कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म बेलायतमा ३ लाख ९८ हजार ६ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेलायतमा कोरोना संक्रमणका कारण अहिलेसम्म ४१ हजार ७ सय ८८ जनाको मृत्यु भैसकेको छ ।
केहिदिन यता बेलायतमा कोरोना संक्रमण तीव्र रुपमा वृद्धि हुदै गएको छ । कोरोना संक्रमणको दोस्रो लहर आउने निश्चित भएको भन्दै बेलायत सरकारका प्रमुख बैज्ञानिक सल्लाहकार सर प्याट्रिक भ्यालेन्सले अहिले नै रोक्ने प्रयास नगरिए अक्टोबर मध्यसम्म दैनिक ५० हजार संक्रमित हुने चेतावनी दिएका छन् ।
सोमबार बिहान प्रधानमन्त्री कार्यालबाट टेलिभिजन सम्बोधन गर्दै भ्यालेन्सले दैनिक दुई सय जनाका दरले मृत्यु हुन सक्ने पनि बताए । प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा थप प्रतिवन्ध लगाउनेबारे सोचिरहेको बताइएको छ । सम्भवतः इंग्ल्याण्डमा दुई साता ‘मिनी लकडाउन’ हुन सक्छ ।
कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले विभिन्न नियम लागू गर्दै आएको छ । गत हप्तादेखि ६ जना भन्दा बढीको सामाजिक भेटघाटलाई गैरकानूनी हुने घोषणा गरिएको छ ।
यसैगरी कोरोना संक्रमित पोजिटिभ भएकाहरुले सेल्फ आइसोलेशन नियम पालना नगेर एक देखि १० हजार पाउण्डसम्म जरिवाना तिर्नुपर्ने नियम आउँदो सेप्टेम्बर २८ बाट लागू हुँदैछ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५