दूतावासमा नेपाल विकास सम्मेलन र संगीत महोत्सव
सप्ताहव्यापी नेपाली कला प्रदर्शनी जारी


लन्डन । लन्डनस्थित नेपाली दूतावासले नेपालको राष्ट्रिय दिवस एवं पाँचौं संविधान दिवसको उपलक्ष्यमा असोज २, ३ र ४ गते त्रिदिवसीय कार्यक्रम आयोजना गरेको छ । राष्ट्रिय दिवसको अवसरमा २ गते नेपाली दूतावास र यूके नेपाल ट्रेड एण्ड इन्भेष्टमेन्ट फोरमको संयुक्त आयोजनामा भर्चुअल माध्यमबाट ‘नेपाल विकास सम्मेलन’ गरिएको दूतावासले जनाएको छ ।
उक्त सम्मेलनमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, अल पार्टी पार्लियामेन्ट्ररी ग्रुप फर नेपालका उपाध्यक्ष तथा फोरमका अध्यक्ष लर्ड शेख, फोरमका उपाध्यक्ष तथा कन्फेडेरेसन अफ ब्रिटिश इन्डष्ट्री (सिबीआइ) का अध्यक्ष लर्ड बिलिमोरिया सिबीइ डिएल, नेपालका लागि संयुक्त अधिराज्यकी राजदूत निकोला पोलिट, नेपाल च्याम्बर अफ कमर्शका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले सम्बोधन एवं प्रस्तुति गरेका थिए ।
राजदूत सुवेदीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम सञ्चालन फोरमका महासचिव तथा डिएम प्रमुख कार्यकारी अतम सन्धुले गरेका थिए । कार्यक्रममा वक्ताहरुले नेपालमा लगानीका अवसरबारे जानकारी दिंदै व्यापार तथा लगानी प्रवर्द्धनका लागि बेलायतका व्यवसायी एवं लगानीकर्ताहरुलाई आग्रह गरे ।
सोही दिन बेलायतस्थित वरिष्ठ कलाकार पिंकी सिंहका नेपालका आकर्षक पर्यटकीय स्थलहरु एवं नेपालको मौलिक कला-संस्कृति झल्काउने ३० वटा उत्कृष्ट कलाकृत्ति समाविष्ट ‘नेपाल यात्रा २०२०’ विषयक नेपाली कला प्रदर्शनीको राजदूतबाट उद्घाटन भएको थियो । उक्त सप्ताहव्यापी कला प्रदर्शनी आश्विन ८ गतेसम्म जारी हुनेछ ।
राष्ट्रिय दिवसको अवसरमा २०७७ आश्विन ३ गते राजदूतावासमा राष्ट्रिय दिवस विशेष समारोह तथा नेपाली संगीत महोत्सव आयोजना गरियो । राजदूत डा. सुवेदीले राष्ट्रिय झण्डा झण्डोत्तलन पश्चात् अतिथिहरुलाई स्वागत गर्दै संयुक्त अधिराज्य, आयरल्याण्ड र माल्टाबासी समस्त नेपाली दाजुभाई तथा दिदीवहिनीहरुको सुख, सुस्वास्थ्य र समृद्दिको कामना गरे ।
उक्त अवसरमा राजदूतले राष्ट्रपति विद्या भण्डारी एवं प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना सन्देश प्रस्तुत गरेका थिए । राष्ट्रिय दिवसको अवसरमा आयोजित नेपाली संगीत महोत्सवमा बेलायतमा रहेर नेपाली गीत संगीतको संरक्षण र संवर्धनमा समर्पित विशिष्ट नेपाली गायक गायिकाहरुको सांगीतिक प्रस्तुति थियो ।
समारोहमा राजदूत डा. सुवेदीले बेलायतका नौ जना लोकप्रिय गायक गायिकाको स्वर रहेको चार वटा गिती एल्बमहरु सम्झनाको ‘सिमसिमे झरी’, ‘मायावी परेलीहरु’, ‘तिम्रो तस्वीर आँखाभरि’, ‘दुबोसरी रहरहरु’ को लोकार्पण गरेका थिए ।
सोही समारोहमा राजदूत सुवेदीले नेपालको सांग्रिला बुक्सद्वारा प्रकाशित बेलायतका ७७ जना प्रतिनिधि नेपाली कथाकारहरुका कथा संकलित ‘बेलायतमा नेपाली कथा’ नामक प्रतिनिधि कथा संग्रहको लोकार्पण गरे ।
त्यसैगरी तेश्रो दिन दूतावासले नेपाल आयरल्याण्ड सोसाइटी एवं आयरल्याण्ड नेपाल च्याम्बर अफ कमर्ससंगको सहकार्यमा भर्चुअल माध्यमबाट राष्ट्रिय दिवस एवं नेपाल विकास सम्मेलन पनि गरेको छ । उक्त सम्मेलनमा नेपाल र आयरल्याण्डबीच शिक्षा, पर्यटन, व्यापार र लगानी अभिवृद्धिका अवसर र चुनौतीहरुबारे वृहत् अन्तरक्रिया भएको थियो ।
आयरल्याण्डका लागि नेपाली राजदूत समेत रहेका डा. सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त सम्मेलनमा नेपाल आयरल्याण्ड सोसाइटीका अध्यक्ष दीपेशमान शाक्य, आयरल्याण्ड नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष भिन्सेन्ट ब्यारी र राष्ट्रिय विमा संस्थानका अध्यक्ष गंगाराम कंडेलसहित डा. जेन फेनलोन, अलान मर्सेल सान्का, निल काभानग, सारा वेष्ट, क्लान ओब्रोचेन, एलिसन इरवीन, इयान टेलरले कार्यपत्र प्रस्तुत गरे ।
कार्यक्रममा राजदूतावासकी उपनियोग प्रमुख तथा काउन्सेलर रोशन खनालले धन्यवाद ज्ञापन गरेकी थिइन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५