बेलायतमा थप २ हजार ६ सयमा संक्रमण पुष्टि, ९ जनाको मृत्यु
संक्रमण नियन्त्रणको प्रयासमा सोमबारदेखि थप कडाई


लन्डन । बेलायतमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढ्दै गएपनि सोमबार यो संख्या केही कम देखिएको छ ।
विगत तीन दिनयता पहिलोपटक दैनिक संक्रमितको संख्या आज सोमबार तीन हजारभन्दा कम देखिएको हो ।
गएको २४ घन्टामा थप २ हजार ६ सय २१ जनामा कोरोनाको पुष्टि भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जनाएको छ ।
यसअघि आइतबार सार्वजनिक गरिएको तथ्याँकअनुसार ३ हजार ३ सय जनामा नयाँ संक्रमण पुष्टि भएको थियो । योसंगै बेलायतमा हालसम्म ३ लाख ७१ हजार १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यसैगरी बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४१ हजार ६ सय ३७ पुगेको छ ।
कोरोना संक्रमणको संख्या बढ्दै गएपछि संक्रमण नियन्त्रण गर्ने उद्देश्यले सरकारद्वारा थप कडाइ शुरु गरिएको छ । जसअनुसार सोमबारबाट इन्डोर वा आउटडोर कुनैपनि स्थानमा ६ जना भन्दा बढी व्यक्ति जम्मा भएमा छरछिमेकले नन-इमर्जेन्सी नम्बर (१०१) मा जानकारी गराउन आव्हान गरिएको छ ।
आजदेखि इंग्ल्याण्ड, स्कटल्याण्ड र वेल्समा ६ जना भन्दा बढीको जमघटमा रोक लगाइएको छ । यो नियम प्राइभेट घर, इन्डोर तथा आउटडोर लगायत पब, रेष्टुरेन्ट, क्याफे र पव्लिक आउटडोर स्थानहरुमा लागू हुनेछ ।
तर स्कुल, कार्यकक्ष वा कोभिड सुरक्षित विवाह,अन्त्येष्टि र संगठित टीम खेलमा भने सो नियम लागू हुनेछैन । नियम उलंघन गर्नेलाई प्रहरीले तत्काल एक सय पाउण्ड जरिवाना गर्न सक्नेछ । तर, पटक पटक नियम उल्लंघन गरेमा जरिवाना पनि बढीमा ३ हजार २ सय पाउण्डसम्म पुग्न सक्नेछ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५