पूर्व राजदूतको दु:खद अवसानमा नेपाली समुदाय मर्माहत
नेपालका असल मित्र थिए मोरिस


लन्डन । नेपालका लागि बेलायती पूर्व राजदूत रिचर्ड मोरिसको असामयिक निधनमा बेलायतको नेपाली समुदाय पनि मर्माहत बनेको छ ।
बेलायती राजदूतको रुपमा उनको ४ वर्षे कार्यकालका क्रममा उनीसँग सहकार्य गर्नेहरुले उनलाई नेपाललाई माया गर्ने एक असल कूटनीतिज्ञका रुपमा सम्झिएका छन् ।
मोरिसले नोभेम्बर २०१५ देखि नोभेम्बर २०१९ सम्म नेपालमा बेलायती राजदूतको रुपमा जिम्मेवारी निर्वाह गरेका थिए ।
चार वर्ष नेपालको लागि बेलायती राजदूतको जिम्मेवारीमा रहँदा स्वर्गीय मोरिसले नेपाल र नेपालीहरुसंग घनिष्ठ सम्बन्ध बनाएका थिए । नेपाललाई औधि माया गर्ने उनले महाभूकम्पपछि बेलायती राजकुमार हयारीको नेपाल भ्रमण संयोजनमा प्रभावकारी भूमिका निर्वाह गरेका थिए ।

बिएनसिसी निवर्तमान अध्यक्ष राजन कंडेल
विशेष गरि ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स (बिएनसिसी) प्रतिनिधिसंग निकट थिए मोरिस । नेपाल र बेलायतबीचको लगानी तथा व्यापार प्रवद्र्धनका लागि कैयौं प्रोजेक्टमा उनीसंग सहकार्य गरेका बिएनसिसीका निवर्तमान अध्यक्ष राजन कंडेलले मोरिसलाई नेपालका एक असल मित्रका रुपमा सम्झिन्छन् ।
‘अहिलेसम्म बेलायतबाट नेपाल गएका बेलायती राजदूतहरुमध्येकै उत्कृष्ट थिए रिचर्ड । नेपाललाई सांच्चिकै माया गर्ने एक असल मित्र पनि’, कँडेलले भने, ‘उनको निधन बेलायत र नेपाल दुवै देशका लागि ठूलो क्षति हो ।’

एनएनआरएनए यूके अध्यक्ष पुनम गुरुङ
उता एनएनआरएनए यूके अध्यक्ष पुनम गुरुङ पनि पूर्व राजदूत रिचर्डलाई नेपाललाई माया गर्ने असल कूटनीतिज्ञको रुपमा सम्झिन्छिन् ।
‘उहांले राजदूतको औपचारिक जिम्मेवारी मात्र निभाएर बस्नुभएन, नेपालीहरुप्रति सधैं स्नेह र प्रेम पनि दर्शाउनुभयो’, अध्यक्ष गुरुङले भनिन्, ‘उहाँको कार्यकालमा बेलायत र नेपालबीचको सम्बन्ध अझै घनिष्ठ बनाउने गरी काम गर्नुभयो ।’
ब्रिटेन नेपाल च्याम्बर अफ कमर्शका उपाध्यक्ष बिराज भट्ट पनि मोरिसको पछिल्लो खबरले मर्माहत छन् ।
‘उनी राजदूत भएर नेपाल जानु अघि लण्डनमै होस् वा नेपालमा हाम्रो टिम डेलिगेसनमा जाँदा होस्, मोरिससँगको साक्षात्कार र उनले दिएको ‘हस्पिटालिटी’ कदापी भुलिने छैन्’- बिराजले स्मरण गरे ।
मोरिसले भूकम्पपछि थलिएको नेपालको पर्यटन उकास्न देखि बेलायती लगानीकर्ता नेपाल आकर्षित गर्न सम्म उल्लेख्य पहल गरेको भट्टले बताए ।
एनआरएनए आइसीसी अनररी काउन्सिल सदस्य विनोद ज्ञवाली पनि मोरिसको निधनको खबरबाट आफू स्तब्ध बनेको बताउंछन् ।
‘उहाँसंगको हरेक भेटमा उहाँको नेपालप्रतिको चासो र सद्भाव छर्लङ देखिन्थ्यो’, ज्ञवाली भन्छन्, ‘बेलायती राजदूतको रुपमा उहाँले पुर्याएको योगदान हामी नेपालीहरुको मानसपटलबाट कहिल्यै हराउनेछैन ।’

बिराज भट्ट
ब्रिटिश सरकारले उनलाई फिजी गणतन्त्रका लागि जुलाइ महिनादेखि कार्यभार सम्हाल्ने गरि उच्चायुक्त तोकेको थियो ।
स्वर्गीय रिचर्ड मोरिसलाई बेलायती सञ्चारमाध्यमहरुले टप ब्रिटिश डिप्लोम्याट (बेलायती उच्च कूटनीतिज्ञ) भनेका छन् ।
सन् २०१५ मा नेपालको राजदूत नियुक्त हुनुअघि पनि उनले बेलायत सरकारका महत्वपुर्ण जिम्मेवारीहरु सम्हालिसकेका थिए ।
बेलायती विदेश मन्त्रालयको प्यासिफिक मामिला हेर्ने विभागको प्रमुखका रुपमा काम गरेका उनले अष्ट्रेलियामा कन्सुलर जनरलको भूमिका पनि निभाएका थिए ।
बेलायतको फार्नहमनजिक बेन्टली क्षेत्रमा बस्दै आएका ५२ वर्षीय पूर्व राजदूत मोरिस गत मे ६ तारिख बिहान १०.३० बजे दौड्न घरबाट निस्किएपछि बेपत्ता भएका थिए । उनको खोजीमा जुटेको ह्याम्पशायर प्रहरीले उनको शव सोमबार स्थानीय एलिस होल्ट जंगलमा फेला पारेको थियो ।

एनआरएनए आइसीसी अनररी काउन्सिल सदस्य विनोद ज्ञवाली
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५