कोरोना महामारीपछि युएईबाट फर्किए साढे तेह्र हजार नेपाली
काठमाडौं । कोरोना महामारीका कारण नियमित हवाई उडान बन्द भए पनि तीन महिनाको अवधिमा नेपालको प्रमुख श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई) बाट साढे १३ हजार नेपाली स्वदेश फर्केका छन् ।
जुन महिनादेखि मङ्गलबारसम्म विभिन्न ८२ चार्टड उडानमार्फत १३ हजार ७८५ नेपाली स्वदेश फर्किएको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ । सोही उडानमार्फत विभिन्न कारणबाट युएईमा ज्यान गुमाएका २६ नेपालीको शव नेपाल फर्काइएको छ ।
पछिल्लो पाँच महिनामा युएईमा विभिन्न कारणबाट ११० नेपालीले ज्यान गुमाएका छन् । तीमध्ये चारवटा शव नेपाल पठाउने क्रममा रहेको, ६९ वटा शवको युएईमै अन्त्येष्टि गरिएको र ११ वटा शवको विस्तृत रिपोर्ट प्राप्त गर्ने प्रक्रियामा रहेको दूतावासले जनाएको छ ।
प्राकृतिक मृत्यु, कोरोना सङ्क्रमण, आत्महत्या, दुर्घटना, हत्यालगायत कारणबाट नेपालीले ज्यान गुमाएको दूतावासले स्पष्ट पारेको छ ।
दूतावासले नेपाल फर्कनै पर्ने अवस्थामा रहेका नेपालीको विवरण सङ्कलन गर्न गत वैशाख १६ गतेदेखि अनलाइन रजिष्ट्रेसन फारम खुलाएको थियो । उक्त रजिष्ट्रेसन फारम भर्नेको सङ्ख्या हालसम्म ४२ हजार पुगेको छ ।
यसका अतिरिक्त इमेल र टेलिफोनमार्फत नेपाल फर्कन नाम टिपाउनेको सङ्ख्या पनि करीब पाँच हजारको हाराहारीमा रहेको दूतावासले जनाएको छ ।
नेपाल फर्कन नाम टिपाएकामध्ये सरकारले तोकेको प्राथमिकता क्रमका आधारमा गर्भवती, बिरामी, नेपालमा आफन्त गुमाएका, रोजगारी गुमाएकालगायत नागरिकलाई स्वदेश फर्काउने क्रम जारी रहेको दूतावासले जनाएको छ । हालसम्म विश्वका विभिन्न मुलुकबाट झण्डै ५० हजार नेपाली चार्टड उडानमार्फत स्वदेश फर्किएका छन् ।
कोभिड–१९ सङ्कट व्यवस्थापक केन्द्र (सिसिएमसी) का अनुसार कोरोना भाइरसबाट उत्पन्न असहज परिस्थितिका बीच मङ्गलबारसम्म ५० हजार १३० नागरिकको उद्धार गरिएको छ ।
उद्धार गरिएकामध्ये सबैभन्दा बढी युएईबाट रहेका छन् । साउदी अरेबियाबाट सात हजार ८१७, मलेसियाबाट सात हजार ६०६, कतारबाट पाँच हजार ३२३, अष्ट्रेलियाबाट एक हजार ७८, जापानबाट एक हजार २३, दक्षिण कोरियाबाट ७२० र संयुक्त राज्य अमेरिकाबाट ५९१ जनाको उद्धार गरिएको छ ।
आज २८३ फर्किए
दक्षिण कोरिया र मलेसियामा अलपत्र परेको २८३ नेपाली आज स्वदेश फिर्केका छन् । सिसिएमसीका अनुसार दक्षिण कोरियाबाट कोरियान एयरलाइन्समार्फत २४७ र मलेसियाबाट मलेसियन एयरलाइन्समार्फत ३६ नेपाली स्वदेश फर्किका हुन् ।
आज स्वदेश फर्काइएका नेपालीलाई नेपाली सेनाको व्यवस्थापनमा स्थापना गरिएको ‘होल्डिङ सेन्टर’मा व्यक्तिगत विवरण सङ्कलन, स्वास्थ्य परीक्षणलगायत आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित प्रदेशको समन्वयमा क्वारेन्टिनमा पठाउने तयारी गरिएको सिसिएमसीले जनाएको छ ।
कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत पहिलो सातादेखि सबै नियमित अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लगाएको थियो ।
अन्तर्राष्ट्रिय उडान रोक लगाइएको अवस्थामा नेपाल फर्कनैपर्ने अवस्थामा रहेका नेपालीलाई गत जेठ महिनादेखि चार्टड उडानमार्फत स्वदेश फर्काउन थालिएको थियो ।