भदौ १ बाट संचालन हुने बाह्य तथा आन्तरिक सबै उडान स्थगित


काठमाडौं । करिब १२० दिन लामो लकडाउनपछि आगामी भदौ १ गतेदेखि संचालन हुने भनिएको आन्तरिक तथा बाह्य उडानहरु स्थगित हुने भएका छन् ।
पछिल्लो समय कोरोनाको प्रकोप झन् बढ्न थालेपछि कोभिड-१९ क्राईसिस् म्यानेजमेन्ट सेन्टर (सीएमसी) को आइतबार बसेको बैठकले पूर्व निर्धारित मिति १५ दिन पर सार्न सरकारलाई सिफारिस गरेसँगै हवाई उडान नहुने भएको हो ।
योसँगै सीएमसीले यसअघि भाद्र १ गतेबाटै खुल्ला गर्ने भनिएको लामा तथा छोटा दुरीका सवारी साधन समेत १५ दिनका लागि पर सार्न भनेको छ ।
यसका साथै खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा जस्ता कार्य समेत भदौ १५ सम्म स्थगित गर्न सरकारलाई सिफारिस गरिएको छ । यस विषयमा सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले छलफल गरेर अन्तिम निर्णय गर्नेछ ।
गत साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले १२० दिन लामो लकडाउन अन्त्य गर्दै सार्वजनिक यातायात सञ्चालन, आन्तरिक तथा बाह्य सबै व्यवसायिक हवाई उडान, विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि खुल्ला गर्ने निर्णय गरेको थियो ।
नेपालमा करिब तीन महिना लामो लकडाउन खुकुलो गरेसंगै कोरोनाको संक्रमण र मृत्युदर तीव्र रुपले वृद्धि हुदै गैरहेको छ ।
कोरोना संक्रमण बढ्दै गएपछि काठमाण्डौ उपत्यका लगायत उपत्यका बाहिरका केहि स्थानमा थप कडाइ गरिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५