बुधबार, मंसिर १९, २०८१
08:41 | १४:२६

ऐतिहासिक वातावरण साहित्य सम्मेलनः एक समीक्षा

विजय हितान अगस्ट ६, २०२०

विजय हितान

५ औं वातावरण साहित्य सम्मेलन नेपाल भ्रमण वर्ष २०२० लाई पारेर काठमान्डूमा आयोजना गर्ने मुल योजना थियो । तर, कोरोना भाइरस महामारीका कारण सन् २०२० जुन ५ र ६ का दिन भर्चुअल माध्यमबाट सम्पन्न गरियो ।

भर्खरै बजारमा आएको जुम एप्समार्फत गरिएको यस साहित्य कार्यक्रम अति नै वातावरणमैत्री भएको मेरो ठम्याइ छ । किनभने, सम्मेलनमा न कोही उडेर आउन परयो न कोही गुडेर । नेपाल, इन्डिया, भुटान, रसिया, युरोप, अमेरिका, अफगानिस्तान, इङल्यान्ड र स्कटल्यान्डबाट सबै आआफ्नो कम्प्युटर स्क्रिनको चौतारीमा भेला भएका थियौं । यसरी घरमै बसेर विश्व सम्मेलनमा भाग लिंदा सहभागीका बहानले कार्बन उत्सर्जन गर्न परेन । आयोजकले कसैलाई जलपान ब्यवस्था गर्न परेन । यसो गर्न नपर्दा न त प्लास्टिक बोतलको पानी, न त प्लेट र कपको ब्यवस्था गर्नु परयो । यसले फोहरमैला उत्पादन भएन । फोहरमैला उत्पादन नभएपछि रिसाइक्लिङ र बिसर्जनको कुरा पनि उठेन ।

तर सन् २०१६ देखि बसालेको एउटा पृथक संस्कार भने यसपाली गर्न नपाउंदा म बेखुशी भएं । त्यो के भने, गमलामा सजिएको 
लालीगुरांसलाई जल अर्पण गरेर गोष्ठीको समुद्घाटन गर्न सकिएन । अनि त्यही 
लालीगुरांसलाई सभापति घोषणा गर्न र अन्त्यमा उत्कृष्ट श्रष्ठालाई त्यही फुल सुम्पेर सम्मान गर्न पाइएन ।

यो सम्मेलन वातावरण मैत्री मात्रै नभएर विशेष रुपले ऐतिहासिक पनि भएको मैले महसुस गरेको छु । पूर्वनिर्धारित योजनानुसार यो काठमान्डूमा भएको भए पनि ऐतिहासिक हुने नै थियो । कारण नेपाली साहित्यमा वातावरण विषयलाई लिएर अन्तरराष्ट्रिय स्तरको सम्मेलन सायद पहिला कतै भएको थिएन । सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्रयाउने उद्देश्य राखेर सरकारले ’नेपाल भ्रमण वर्ष २०२०’ घोषणा गरेको थियो । यसलाई सफल पार्न दर्जनौं राष्ट्रका 
प्रवासी नेपाली साहित्यकारलाई काठमाडौं उतार्ने हाम्रो लक्ष्य थियो । ता कि ति सहभागीले यत्रतत्र घुमघाम गरेर दुईचार लाख खर्च गरुन् । नेपाली अर्थतन्त्रलाई बलियो बनाउन केही हदसम्म मद्दत गरुन् । साथै इको साहित्य प्रवर्धनमा योगदान पुरयाउन भन्ने हाम्रो सोचाइ थियो ।

भ्रमण वर्ष सफल पार्न बेलायतका लागि नेपाली राजदूत महामहिम डा. दुर्गाबहादुर सुवेदीको पहलमा विभिन्न क्षेत्रहरुसंग सम्बन्धित समितिहरुका साथै एक साहित्य समन्वय समिति गठन गरिएको थियो । साहित्य समन्वय समितिमा कोमल मल्ल संयोजक, सुमल गुरुङ सहसंयोजक, लक्ष्मी राई लारा सहसंयोजक, बिकलचन्द्र आचार्य सहसंयोजक र म स्वयंलाई सचिवको कार्यभार सुम्पिएको थियो । समितिमा नाम राखियो तर काम गरेर कसरी देखाउने भनेर छलफल चलायौं । सन् २०१६ देखि लन्डनमा आयोजना गरिदै आएको वातावरण साहित्य गोष्ठीलाई निरन्तरता दिंदै नेपाल लग्ने निर्णयमा पुगियो । तदनुसार सबैको सहमतिले यसको संयोजक हुन म तयार भएँ ।

युवावस्थामै परदेश लागेको थिएं । त्यो दिन देखि अहिलेसम्म मैले जे गरेन विदेशी भूमिका लागि मात्रै गरेको थिएं । आफ्नो मातृभूमिलाई उल्लेखनीय योगदान केही दिन सकेको थिएन । यसकुराले ममा आत्मग्लानी पैदा भैरहन्थ्यो । यस्तो अन्तरराष्ट्रिय सम्मेलनको प्रमुख संयोजक हुन पाउंदा मलाई गौरव साथै कर्तब्यबोध भयो । आफ्नो राष्ट्रलाई केही सहयोग गर्न पाउने अवसरको रुपमा यसलाई लिएर ततपश्चात मैले पाइला चाल्न सुरु गरिन् । त्यसपछि मैले एउटा कार्य योजना तर्जुमा गरें र ४ जनवरी २०२० को दिन नेपाली राजदूतावास लन्डनको एक भेलामा राजदूत समक्ष पेश गरयौं ।

राजदूतावासद्वारा मान्यता प्राप्त यती ठूलो कार्यक्रम संयोजन गर्ने जिम्मेवारी पाएपछि दत्तचित्त लगाएर म अगाडि बढें । आठ हजार 
रुपैंया तिरेर प्रज्ञा भवनको लेखनाथ प्रवचन कक्ष भाभेस भुमरीद्वारा अग्रिम बुकिङ गराइसकेको थिएं । त्यसपछि यसको ब्यापक प्रचार प्रसार र अधिकतम सअभागिता जुटाउने उद्देश्यले विश्वका १४ राष्ट्रमा साथीहरुलाई प्रतिनिधि भइदिन आग्रह गरें ।

मेरो अनुरोधलाई सहर्ष स्वीकार्दै निम्नलिखित मेरा मित्रहरु प्रतिनिधि बनिदिनु भयो बिमल गिरी (बेल्जियम), लतिका जोशी (भारत) जिवित खड्कामगर 
(युएइ र खाडी मुलुक), सयपत्री थुलुङ (जापान), कमल पौड्याल (हङकङ), डा. शिवराज भट्टराई (भुटान), डा. लेखनाथ काफ्ले (ताइवान), गोविन्द गिरी प्रेरणा (अमेरिका), वाइबी गुरूङ (पोर्तुगल), कृष्णप्रकाश श्रेष्ठ (रसिया), निरज क्षेत्री (अष्ट्रेलिया), सुनिता राई कङदङवा (इजरायल), जानुका कामवाङ लिम्बु (बेलायत), कमला रिसाल (नेपाल) ।

यो कार्यक्रम काठमान्डूमा आयोजना गरिने भएकाले त्यहांका साथीहरुको विशेष भूमिका रहन्थ्यो । तसर्थ नेपालबाट वरिष्ठ समालोचक तथा साहित्यकार प्रा. डा. गोविन्दराज भट्टराई, सुविख्यात युवाकवि प्रज्ज्वल अधिकारी र वरिष्ठ गीतकार भावेश भुमरीको 
प्रत्यक्ष सहयोग हुने मलाई आश्वासन प्राप्त भयो । यस्तो वृहत कार्यक्रम आयोजना गर्दा साथ र सहयोग पाउने भनेको आखिरमा आफैं आवद्ध संगठनबाट हुन्छ । तत्पश्चात योजना निर्माणका सिलसिलामा विश्व नेपाली साहित्य महासंघ नेपाल च्याप्टरकी अध्यक्ष कल्पना पौड्याल ‘जिज्ञासु’ लगायत अन्य पदाधिकारीहरुसंग पनि मेरो वार्तालाप सुरु भइसकेको थियो ।

तर, मैले माथि नै भने जस्तै, कोरोना महामारीका कारणले सभास्थलमा तर्जुमा गरिएको कार्यक्रम दुर्भाग्यवश रद्द गर्नु परयो । यसको पूर्व तयारीमा मैले खर्चेका घन्टौं समयका पललाई सम्झेर ल्याउंदा एकैछिन दुःखीत बने । मे महिनाको १५ तारिख नेपाल उड्ने भनेर काटेको हावाइजहाज टिकट रद्द गर्नुपर्ने भयो । पैसा फिर्ता पाइने हो कि होइन भनेर उता चिन्ता पनि लाग्न थाल्यो । अर्कोतिर खुशी पनि भएको थिएं उडेर जान नपर्दा आफ्नो कार्बन फुटप्रिन्ट पनि सृजना नहुने भएकोले ।

अब के गर्ने भनेर राजदूत, समन्वय समिति, प्रतिनिधि, साहित्य चौतारी, नेपालका संयोजक साथीहरुसंग सल्लाह गरें । सबैले भर्चुअल माध्यमद्वारा कार्यक्रम गर्ने सुझाव दिनुभयो । भाग्यवश जुम एप्सका प्राविधिज्ञ मित्र जित रानाभाटसंग सम्पर्क हुन गयो । उहांले दुबै दिन जुम एप्स साथै कार्यक्रम चलाइदिने प्रतिवद्दता दिएपछि म ढुक्क भएं । यद्यपिप भर्चुअल माध्यमबाट गरिएको कार्यक्रम अपेक्षा गरेको भन्दा बढी नै सफल भएको देख्दा मैले अन्ततगत्वा आत्मसन्तुष्टिको अनुभूति गरेको थिएं ।

कोरोनाको महामारीबाट सारा विश्व गुज्रिरहेको अवस्थामा यो कार्यक्रम गरिएको हुंदा पनि यो एक विशेष ऐतिहासिक कार्यक्रम हुन गएको छ । सारा विश्वलाई नै भाइरसले ठप्प पारिरहेको अवस्थाबाट गुज्रिदै गर्दा मृत्युको रापले पोलिरहेको मनस्थिति लिएर यस सम्मेलनमा वाचन गरिएका सृजना नवीनताका हिसाबले अतिनै पृथक थिए । दर्जनौं कविताहरुले कोरोना भाइरसले उतपन्न गरेको त्रासदीपूर्ण जीवनको उदगार एकातिर गरेको पाइन्छ भने कतिमा कोरोना भाइरसले वातावरणमा पारेको साकरात्मक प्रभावको बारेमा वर्णन गरेको पाइन्छ ।

यस दुई दिवसीय कार्यक्रममा भारतको आसमबाट समालोचक ज्ञानबहादुर छेत्रीलाई अतिथिको रुपमा निमन्त्रणा गरेका थियौं । उहांसंगको मेरो परिचय एक महिना अघि मात्रै जुरेको थियो । हाम्रो सम्बन्ध मेरो कथा ‘उहान, कोरोना र ब्लु प्लेनट’ नेपाली लिंक अनलाइनमा प्रकाश भएपछि सुरु भएको थियो । उक्त कथालाई प्रा. डा. गोविन्दराज भट्टराईले उहांलाई पठाइदिनु भएछ । अनि मेरो कथाबाट उहां प्रभावित भई कथाको समिक्षा लेखेर मलाई इमेल गरेर पठाउनु भयो । यस्तो अचानकको साहित्यिक उपहारले म एकातिर आश्चार्य अनि अर्कोतिर पुलकित भएको थिएं ।

‘प्रकृतिको लागि समय’ नारा थियो विश्व वातावरण दिवस २०२० को । यसैलाई पारेर गरिएको हाम्रो कार्यक्रममा कविताहरुको समिक्षा गर्ने जिम्मेवारी ज्ञानबहादुर छेत्रीज्यूलाई दिएका थियौं । कार्यक्रमको अन्त्यमा उहांले सबै कविता उपर छोटो समिक्षात्मक टिप्पणी राख्दै उत्कृष्ट दुई कविता घोषणा गर्नु भएको थियो । ति उत्कृष्ट दुई कविताहरु थिए कान्तिपुर दैनिकका वरिष्ठ सहसम्पादक गणेश राईको ‘ए धोबिनी चरी’ र आसामी साहित्यकार धर्मेन्द्र उपाध्यायको ‘यो विश्व तिम्रो मात्रा होइन पार्श’ । सभाकक्षमा कार्यक्रम गरिएको भए लालीगुरांस र प्रमाणपत्रले उत्कृष्ट श्रष्ठालाई सम्मान गरिन्थ्यो । तर, उहांहरुलाई जनही रु १०,००० र प्रमाणपत्रले पछि सम्मान गरिने भएको छ ।

यस्तो अनौठो अवस्थामा जन्मेका श्रृजनाहरुको महत्व विशेष हुन्छ भन्ठानेर होला यस कार्यक्रमका अर्का विशिष्ट अतिथी प्रा डा खगेन्द्र प्रसाद लुईंटेलले संग्रहको रुपमा पुस्तक निकाल्न सल्लाह दिनुभयो । कार्यक्रमपूर्व संग्रह प्रकाशन गर्छु भन्ने कुनै सोच नबनाएको अवस्थामा उहांको सल्लाहले एकैछिन सोच्न वाध्य बनायो । एक इको आख्यान र एक ऐतिहासिक युद्ध उपन्यास लेखनमा म ब्यस्त थिएं । त्यस्तो बेलामा मलाई अर्को कृति सम्पादन गर्ने फुर्सद थिएन ।

विश्वले यस्तो महामारी छिट्टै फेरी भोग्न पर्दैन होला र यस्ता रचना फेरी श्रृजना पनि नहोलान् भन्ने लाग्यो । वातावरण साहित्यको आन्दोलनमा लागिरहेको म मान्छेलाई, यो अवसर बाढी आएपछि बगाएर ल्याएको माछालाई समात्न, जति नै जोखिम मोलेर भए पनि, जसरी एक माझिलाई हतार हुन्छ मलाई त्यस्तै हतार भएको थियो । त्यसपछि कुनै ढिला नगरी यिनै कविताहरुको संग्रह प्रकाशनमा अहिले म जुटेको छु ।

यसै कार्यक्रममा सहभागी अर्का विशेष अतिथी प्रा डा. गोविन्दराज भट्टराईले पुस्तकको न्वारन गरिदिनु भयो । उहांले, ‘हामीले यस अघि ‘स्वछन्द सुसेलीहरु’ प्रकाशन गरेका छौं । अबको प्रकाशोन्मुख पुस्तकको नाम ‘स्वछन्द सुसेलीहरु २’ राख्दा पछिका सन्ततिले इको साहित्यलाई अध्ययन गर्न सजिलो पर्छ’ भनेर सल्लाह दिनुभयो । त्यसपछि म यसको शीर्षक ‘स्वच्छन्द सुसेलीहरु २’ राख्ने निर्णयमा पुगेको छु । अब आउंदा वर्षहरुमा इको निवन्ध, इको कथा, तथा इको लेखहरुको संयुक्त संग्रह प्रकाशन गर्न उहांले दिएको सल्लाहलाई मैले मनन गरेको छु ।

८३ जनाको सहभागिता रहेको यस सम्मेलनमा भौगोलिक, बौद्धिक तथा लैङिक विविधता देखिन्थ्यो । विश्वका ९ मुलुकका साहित्यकारहरुको सहभागिता थियो । विज्ञताको दृष्टिकोणले पनि यो एक विशेष कार्यक्रम भएको मैले महसुस गरेको थिइन् । १२ जना प्राध्यापक तथा डाक्टरहरुको सहभागिता थियो । उहांहरु कसैले इको साहित्य र नेपाली डायष्पोरीक साहित्यमा आफ्नो विचार राख्नु भएको थियो भने कतिले इको कविता वाचन गर्नु भएको थियो ।

भनिन्छ, महिला पुरुष भन्दा बढी वातावरणीय कृयाकलापमा संलग्न हुन्छन् । तिनलाई सचेत बनाउन सकियो भने वातावरणीय संरक्षणमा प्रभावकारीता आउंछ । यसको उदाहरण केन्याकी महिला वाङारी मातायले चलाएको ‘ग्रीन बेल्ट मुभमेन्ट’ हो । जसमा अफ्रिकी महिलाहरुलाई वातावरणीय संरक्षणका गतिविधिमा सम्मिलित गराइएको थियो । जो अति प्रभावकारी र सफल वातावरणीय आन्दोलन थियो । फलस्वरुप वाङ्गारीलाई सन् २००४ मा नोवेल शान्ति पुरस्कारले सम्मान गरिएको थियो । हाम्रो कार्यक्रममा पनि एक 
चौथाइ सहभागिता महिलाको थियो । उहांहरुमध्ये नारी हकअधिकारका विषयलाई लिएर कलम चलाउंदै आएका राष्ट्रियस्तरका साहित्यकार उषा शेरचन र प्रगति राईको सहभागीता रह्यो । त्यसै गरी विद्धताको हिसाबले डा. नाज सिङ र डा. सरीता शर्मा जस्ता नारी हस्थाक्षरको पनि सहभागीताले त्यो कार्यक्रमलाई थप उचाईंमा पुरयाएको थियो ।

वातावरण सबैको चासोको विषय हो । यसलाई जात, धर्म, वर्ग, देश, भौगोलिकता, राजनीति केहीको परिधिले बांधेर राख्न सक्दैन् । पशुपंछीको प्रवासनलाई कुनै देशको सिमानाले छेक्दैन् । एउटा नदी पनि दर्जनौं देशहरुको सिमाना नाघ्दै समुद्रमा समाहित हुन पुगेको हुन्छ । हावाको बहाव र सूर्यको प्रकाशको गतिको पनि कुनै सीमा हुन्न । यसर्थ जसरी बातावरणका यि तत्वहरु सर्बब्यापी हुन्छन् हाम्रो बातावरण साहित्यलाई पनि म सर्बब्यापी भएर फैलिएको देख्न चाहन्छु ।

त्यसैले मैले भन्दै आएको छु भानु जयन्तीको साथसाथै भालु जयन्ती पनि मनाउन । मोती जयन्त िमात्रै किन माटो जयन्ती पनि मनाउंन । पृथ्वीनारायण दिवस संगसंगै पृथ्वी ग्रह दिवस पनि मनाउं । यि महामानवका जन्मजयन्तीहरु विभिन्न साहित्यिक संघसंस्थाले आयोजना गर्दै आएका छौं । जबसम्म सबै साहित्य संस्थाहरुले वातावरण दिवस पनि मनाउने संस्कार चलाउंदैनन् तबसम्म मनिषामा पूर्ण रुपमा वातावरणीय 
संरक्षणका चेतना आउनेछैन् । हामीहरु सबै सचेत नहुंदासम्म पर्यावरण प्रवर्धन, संवर्धन र संरक्षण हुने कुरा पनि आएन । यसर्थ यस पृथ्वीको सुन्दरतालाई बचाइराख्न हामी साहित्यकारको कांधमा ठूलो जिम्मेवारी छ भनेर बुझन म सबैलाई आव्हान गर्दछु ।

यसर्थ वातावरण साहित्यलाई प्रत्येक नेपाली साहित्यिक संस्थामाझ पुरयाउने लक्ष्य लिएको छु । यस उद्देश्य प्राप्त गर्न आगामी वर्षहरुमा यस्ता कार्यक्रमहरुलाई प्रभावकारी बनाएर लग्न म यसको संस्थागत विकासतिर लम्किरहेको छु । त्यसर्थ विचार मिल्दा वातावरण साहित्य अनुरागी मित्रहरुको खोजीमा छु । भगवान बुद्धले पनि त बुद्धत्व प्राप्त गर्न बित्तिकै अनुयायी पाएका थिएनन् नि । उनलाई आफ्ना शिष्यहरु कमाउन वर्षौं लागेको थियो ।

आगामी वर्षहरुमा वातावरण साहित्य गोष्ठीलाई अन्य देशहरुमा पनि लगेर जाने सोंच बनाएको छु । यसप्रति अत्यधिक श्रष्ठाहरुलाई आकर्षित पार्न पुरस्कारलाई अझै ब्यवस्थित बनाएर लैजाने छु । यहांहरु सबैको साथ र सहयोग निरन्तर रहिरहने छ भन्ने मैले पूर्ण आशा लिएको छु ।

पुछारमा, पांचौं वातावरण साहित्य सम्मेलनमा भाग लिएर प्रत्यक्ष सहयोग पुरयाउनुहुने सबै इको साहित्य अनुरागी साथीहरुप्रति हार्दिक धन्यवाद ब्यक्त गर्दछु ।

अगष्ट २०२०, फोक्स्टोन, केन्ट, युके

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू