शुक्रबार, पुष १२, २०८१
07:55
|
१३:४०
दुई सय ५९ जना नयाँ सङ्क्रमित, उपत्यकामा ६२
हालसम्म कोरोना भाइरसबाट ५८ जनाको मृत्यु
रासस
अगस्ट ४, २०२०
काठमाडौँ, २० साउन– नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म जम्मा सङ्क्रमितको सङ्ख्या २१ हजार ९०० पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले देशभरका प्रयोगशालामा सात हजार ६८७ पिसिआर नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको बताए ।
हालसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ९२५ छ । त्यसैगरी काठमाडौँ उपत्यकामा विभिन्न सात परीक्षण केन्द्रमा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमा काठमाडौँमा ४८, ललितपुरमा एक तथा भक्तपुरमा १३ व्यक्तिलाई कोरोना सङ्क्रमण देखिएको हो ।
हालसम्म चार लाख छ हजार ५९४ को परीक्षण गरिएको छ । सङ्क्रमितमध्ये १५ हजार २६ जना उपचार पछि निको भएर घर फर्केका छन् ।
आज थप एक जनाको कोरोनाको कारण मृत्यु भएको छ । मोरङ जिल्ला घर भएका ७७ वर्षका पुरुषको कोरोना सङ्क्रमणको कारण हिजो मृत्यु भएको हो । योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट ५८ जनाको मृत्यु भएको छ ।
सरकारले पछिल्लो समय काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकामा पनि परीक्षण गर्न थालेको छ । परीक्षणको क्रममा आज नागढुङ्गामा एक हजार ३०७ जनामा गरिएको परीक्षणमा १६, फर्पिङमा तीन हजार ४८२ जनामा गरिएको परीक्षणमा १३ र साँगामा छ हजार ६४ जनामा गरिएको परीक्षणमा ११ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जानकारी गराएको छ ।
हाल दश हजार ४५२ जना क्वारेन्टिनमा रहेका छन् । विगत २४ घण्टामा ६५ जना निको भएर घर फर्केका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५