शुक्रबार, पुष १२, २०८१
08:23
|
१४:०८
सिन्धुपाल्चोकमा पहिराले पुरेर १० को मृत्यु
मेलम्ची पहिरामा हराएका आठ शव फेला
रासस
अगस्ट ३, २०२०
सिन्धुपाल्चोक, १९ साउन–मेलम्ची पहिरामा पुरिएर हराएका सबै आठ जनाको शव फेला परेको छ । गएराति आएको पहिरामा परेका आठ जनाकै शव फेला परेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए ।
मृत्यु हुनेमा सात जना वीरगञ्ज र एक जना भारतीय नागरिक रहेका छन् । वीरगञ्जका ४२ वर्षीय राजेन्द्र चौरासिया, ३५ वर्षीय प्रदीप चौरासिया, २५ वर्षीय विक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिव बालक धामी, १७ वर्षीय सोनाम लामा र एक जना भारतीय नागरिक राजेन्द्र चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अर्का एक जना भारतीय नागरिक बारु शाहको भने मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत ह्याम्स अस्पताल काठमाडौँ पठाइएको छ ।
बरुवामा घर पुर्दा दुईको मृत्यु
अविरल वर्षासँगै आएको पहिराले सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ बरुवामा पहिराले एक घर पुर्दा दुई जनाको मृत्यु भएको छ । बरुवाको स्वास्थ्य चौकी नजिकै यज्ञबहादुर क्षेत्री बञ्जराको घर पुर्दा अन्दाजी ४० वर्षका बञ्जारा र अन्दाजी ४० वर्षीया उनकी श्रीमती लक्ष्मी क्षत्री बञ्जराको मृत्यु भएको वडाध्यक्ष पासाङ लामाले जानकारी दिए । गएराति गएको पहिराले उनीहरुलाई पुरेको थियो । स्थानीयवासीले उनीहरुको शव निकालेका हुन् । उनीहरुका दुई छोरी र एक छोरा छन् । छोरा काठमाडौँ आएका छन् । एक छोरी विदेशमा छिन् भने अर्की छोरी हजुरबुबाको घरमा बसेकाले सुरक्षित छिन् ।
गएरातिको पहिराले गाउँपालिकाका– १, २, ३, ६, ७ र ८ मा पहिराले ठूलो क्षति पुरयाएको अध्यक्ष लामाले बताए । “कसैको आँगन छैन । कसैका चौपाया पुरिएका छन्”, उनले भने, “गाउँपालिकाभरि पहिराले क्षतविक्षत बनाएको छ ।”
भोटेकोशी गाउँपालिकाका बाढीपीडितलाई म्याट्रेस नेपाल प्रवासी चिनियाँ व्यापार सङ्घले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका बाढीपीडितका लागि रु तीन लाख ५० हजार बराबरको म्याट्रेस सहयोग गरेको छ । उक्त सहयोग आज गाउँपालिका प्रमुख राजकुमार पौडेललाई हस्तान्तरण गरिएको हो ।
विपत्तिको यस घडीमा सहयोग गर्न पाएकामा नेपाल प्रवासी चिनियाँ व्यापार सङ्घले खुशी व्यक्त गरेको छ । यो विपत्मा सहयोगको हात फैलाउने सङ्घप्रति गाउँपालिका अध्यक्ष पौडेलले आभार प्रकट गरे ।
गत महिना असारको बाढीपहिराले भोटेकोशी गाउँपालिकामा ठूलो धनजनको क्षति भएको थियो भने कैयौँ घरबारविहीन भएका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५