फोनिज यूके अध्यक्ष राई सम्मानित


लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ यूकेकी अध्यक्ष एवम् सामाजिक अभियन्ता प्रमिला लाबुङ राई सम्मानित भएकी छन् ।
पत्रकारिता र सामाजिक कार्यको माध्यमबाट समुदायमा पुर्याएको योगदानको कदर गर्दै किरात राई यायोक्खा बेलायतले उनलाई सम्मान गरेको हो ।
किरांत राज्य (नेपाल) का प्रथम राजा यलम्बरको स्मृतिमा आइतबार आयोजित एक समारोहमा संस्थाकी उपमहासचिव समेत रहेकी राईलाई सम्मान गरिएको हो ।
लेमन लिफ रेष्टुरेन्ट एन्ड बार चेरिटन फोक्सटनमा सम्पन्न समारोहलाई संस्थाका कार्यवाहक अध्यक्ष चन्द्रबहादुर राईले दीप प्रज्वलन गरी शुभारम्भ गरेका थिए । उनले प्रथम राजा यलम्बरको तस्विरमा खादा एवम् पुष्पगुच्चा अर्पण गरेका थिए ।
कोरोना महामारीलाई ध्यानमा राखेर थोरै सहभागी माझ सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार पदमबहादुर राई (बिइएम), पूर्व महासचिव तथा वर्तमान उपाध्यक्ष जितेन्द्र राई, उपाध्यक्ष मेजर दिल कुमार राई, उपाध्यक्ष निलम राई, सचिव अनिता राई, सहकोषाध्यक्ष डा. महा राई, सहकोषाध्यक्ष सावित्रा राई, सदस्यहरु भिम राई, गंगाराज राई, मिलनचन्द्र राई, राजेन्द्र राई, विनोद राई, शन्देस राई, किरात राई तायामा खियामा महिला समिति अध्यक्ष रोजी राई लगायतको उपस्थिति थियो ।
प्रथम किराती राजा यलम्बरले अहिलेको काठमाडौ उपत्यकामा महिस्पाल वंशका राजा भुवन सिंहलाई हराएर किरात राज्य शुरु गरेका थिए । एकतीस पुस्तासम्म निरन्तर रहेको तत्कालिन किरात राज्य बत्तिस किराती राजाहरुले शासन गरेको र पछि लिच्छवी शासकहरुले किरात राज्यलाई जितेर लिएको ऐतिहासिक अभिलेखहरुमा पाइन्छ ।
हाल किरात राई, किरात लिम्बू, किरात याक्खा, किरात सुनुवार (कोईच) हरुले आफूलाई त्यही किरातको सन्तान भएको दावी गरिरहेको छन् । नेपालका अन्य आदिवासी समुदाय सुरेल जिरेल, कोचे, मेचे, धिमाल, राजवंशीहरुले पनि आफूलाई किरात भन्दै आएको पाइन्छ ।
बेलायतमा समेत किरात राई, किरात लिम्बू, किरात सुनुवार र किरात याक्खा जातिका मानिसहरु उल्लेख्य संख्यामा बसोबास गर्दै आएका छन् ।
प्रथम किराती राजा यलम्बरको स्मृतिमा किरात राई यायोक्खा बेलायतले वर्षेनी अगष्ट पहिलो सप्ताहअन्तमा बृहत रुपले मनाउदै आएको यलम्बर स्मृति दिवस यसपटक भने कोरोना महामारीका कारण स्थगित भएको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५