मिस गरे बेलायतका गुल्मेलीले वार्षिक भेला
गुल्मेलीको वार्षिक भेला स्थगित



गत वर्षको गुल्मेली भेलामा अतिथी तथा पदाधिकारीहरु
लन्डन । बेलायतमा वर्षेनी आयोजना हुने नेपाली समुदायका प्रमुख इभेन्टमध्येको एक हो गुल्मी जिल्ला समाज यूकेको वार्षिक भेला । हरेक वर्ष अगस्टको पहिलो साता हुँदै आएको भेला यसपटक भने कोरोना महामारीका कारण रोकिएको छ ।
यसपटक आज आईतबार अगस्ट २ तारिख अल्डरसटको एल्डरवुड स्कुलमा तय भएको भेला महामारी शुरु भएपछि स्थगित गरिएको हो ।
शुरुका वर्षहरुमा फरक फरक भेन्यूमा आयोजना गरिएको गुल्मेली भेला पछिल्लो वर्षदेखि भने निरन्तर अल्डरसटमा हुने गरेको थियो ।
भेलामा लन्डन, अल्डरसट र आसपासबाट मात्र नभइ मिडल्यान्ड, स्कटल्यान्ड लगायत क्षेत्रबाट समेत ठूलो संख्यामा गुल्मेलीहरु सहभागी हुने गरेका थिए । साउथ इष्ट, बर्मिङहम, नटिङगम जस्ता ठाउँबाट बस नै रिजर्भ गरेर ओइरिन्थे गुल्मेलीहरु ।
गुल्मेली नौमती बाजादेखि नेपालबाट ल्याइने चर्चित लोकदोहोरी कलाकारको प्रस्तुति मात्रै होइन, मौलिक गुल्मेली झ्याउरे, ठाडो भाका, तीजगीत र भजन समेतको रमाइलो प्रस्तुति भेलाका मुख्य आकर्षण रहन्थे । जसले गर्दा बेलायतबासी गुल्मेली मात्र नभइ गैरगुल्मेली नेपालीको पनि सहभागिता रहने गरेको थियो ।
यो वर्ष आयोजना हुने भेला गुल्मी जिल्ला समाजको चौधौं वार्षिक भेला थियो । समाजका अध्यक्ष टोप पल्लीले वर्षेनी हजारौं सहभागी हुने गरेको कार्यक्रम स्थगित गर्नुपर्दा आफू दुखी रहेको बताए ।
‘यो भेला हामीहरुको लागि वर्षमा एकपटक भेटघाट गर्ने, नाचगान, खानपिन गरी रमाउने पर्व जस्तै बनेको छ’, अध्यक्ष पल्लीले भने, ‘भेला हुने दिनलाई बेलायतमा बस्ने हरेक गुल्मेलीले वर्षभर पर्खिएर बस्छौँ ।’
समाजका सचिव बीर बलालले वार्षिक भेला स्थगित गर्नुपरे पनि हरेक वर्ष डिसेम्बरमा हुने संस्थाको च्यारिटी कार्यक्रम गर्न भने वातावरण बन्ने विश्वास व्यक्त गरे ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५