मंगलबार, फागुन १३, २०८१
विभिन्न मुलुकमा अलपत्र एक हजार १४ नेपाली स्वदेश फर्किए


रासस
अगस्ट १, २०२०
काठमाडौं । विभिन्न मुलुकमा अलपत्र एक हजार १४ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ को जोखिमका कारण विदेशमा अलपत्र परेका उनीहरु विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत स्वदेश फर्किएका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी ११ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानबाट दुई शव पनि नेपाल ल्याइएको छ । नेपाल एयरलाइन्सले दुबईबाट २६५ यात्रु र दुई बच्चा नेपाल ल्याएको छ । सोही एयरलाइन्सले कुवेतबाट १४९ यात्रु र एक बच्चा तथा दुबईबाट रियादबाट २५८ यात्रु र दुई शव नेपाल ल्याएको छ ।
थप नेपालीको उद्धार उडानका लागि नेपाल एयरलाइन्सका जहाज क्वालालम्पुर र दोहा उडेको विमानस्थल कार्यालयले जनाएको छ । हिमालय एयरलाइन्सले अबुधाबीबाट १४३ यात्रु र तीन बच्चा तथा दोहाबाट १५३ यात्रु काठमाडौँ ल्याएको छ ।
त्यस्तै इतिहाद एयरवेजले अबुधाबीबाट १३६ यात्रु र एक बच्चा नेपाल ल्याएको छ । एयर अरेबियाले सारजाहाबाट १६८ यात्रु र एक बच्चा नेपाल ल्याएको विमानस्थलले विज्ञप्ति मार्फत जनाएको छ ।
आइतबार पनि विभिन्न एयरलाइन्सका १३ वटा चार्टर्ड उडान गर्ने विमानस्थलको तालिका छ । आन्तरिकतर्फ छ वटा चार्टर्ड उडान भएका छन् ।
सीता एयरले सुर्खेत तथा मनाङ, सिम्रिक, एयर डाइनेष्टि र कैलाश एयरका हेलीकोप्टरले विभिन्न गन्तव्यमा उडान गरेको विमानस्थलले जनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५