भारतमा कोभिड संङ्क्रमितको संख्या १५ लाख ८३ हजार नाघ्यो
नयाँदिल्ली । १५ साउन- भारतमा ‘कोभिड १९’ सङ्क्रमितको संख्या १५ लाख ८३ हजार नाघेको छ । गत २४ घण्टामा ५२ हजार १२३ मा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १५ लाख ८३ हजार ७९२ पुगेको त्यहाँको केन्द्रिय स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ ।
भारतमा गत २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण ७७५ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या ३४ हजार ९६८ पुगेको छ ।
सरकारी अधिकारीहरुका भनाइमा भारतमा कोरोना भाइरस सङ्क्रमित मध्ये १० लाख २० हजार ५२८ व्यक्ति निको भएर फर्किएका छन् । हाल भारतमा ५ लाख २८ हजार २४२ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा छन् ।
भारतको महाराष्ट्र सबभन्दा प्रभावित कोरोना भाइरस सङ्क्रमण राज्यको रुपमा छ । महाराष्ट्रमा बुधबार एकै दिन नौ हजार २११ व्यक्ति थप सङ्क्रमित भएका छन् भने एकै दिनमा २९८ जनाको मृत्यु भएको छ । महाराष्ट्रमा कुल चार लाख ६५१ जना सङ्क्रमित अवस्थामा छन् भने दुई लाख ७५५ जना निको भएर घर फर्किएका छन् ।
कोरोना भाइरस प्रभावित भारतको दोस्रो राज्य तमिलनाडूमा दुई लाख ३४ हजार ११४ जनामा सङ्क्रमण भएको छ र राजधानी शहरसमेत रहेको दिल्ली राज्यमा एक लाख ३२ हजार २७५ जनामा सङ्क्रमण भएको छ ।