नेपालमा बाघको संख्या दोब्बर पार्ने प्रतिबद्धता


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता पूरा गरिने बताएका छन् । अन्तर्राष्ट्रिय बाघ दिवस २०२० को उपलक्ष्यमा आज एक सन्देश दिँदै ओलीले नेपालले प्रतिबद्धता गरेअनुरूप नेपाल सरकारले तराईका पाँचवटा राष्ट्रिय निकुञ्जलाई समेटेर भूपरिधीयस्तरमा स्थानीय समुदाय र सरोकारवालासँग समन्वय गरी बाघ संरक्षणका गतिविधि सञ्चालन गर्दै आएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन् , “बाघ प्रकृतिको निःशुल्क उपहार मात्र होइन, प्रकृतिमा पाइने प्रजातिहरूमध्ये सबैभन्दा सुन्दर प्रजाति पनि हो, यो प्रजाति उष्ण हावापानी, सफा र स्वस्थ इकोसिस्टममा मात्र पाइने भएकाले बाघ उष्ण पारिस्थितिकीय प्रणालीको उच्च तहमा पाइने मांसहारी प्रजाति भएकाले छाता प्रजाति पनि भनिन्छ ।” बाघलाई मात्रै बचाउन सके अरु धेरै प्रजातिलाई स्वतः बचाउन सकिन्छ भन्ने मान्यता रहिआएको ओलीले बताए ।
बासस्थानको नाश, बढ्दो मानव वन्यजन्तु द्वन्द्व, चोरी शिकार तथा बाघका अङ्गको अवैध व्यापार, जलवायु परिवर्तनका जोखिम र रोगव्याधिले गर्दा बाघ संरक्षणका चुनौती दिनप्रतिदिन थपिँदो भएकाले विश्व संरक्षण सङ्घले बाघलाई रातो किताबको दुर्लभ सूचीमा राखेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सन्देशमा साइटिसले अनुसूची–१ मा राखेर यसको अन्तर्राष्ट्रिय व्यापारमा पूर्ण प्रतिबन्ध लगाइएको स्मरण गर्नुभएको छ । नेपालमा सन् २०१० मा बाघको सङ्ख्या १२१ रहेकामा सन् २०१८ मा बढेर २३५ पुगेको छ ।
प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनका जोखिम र कोभिड–१९ जस्ता महामारीबाट बाघ पनि अछुतो नभएको र जलवायु परिवर्तनका जोखिमबाट बाघलाई बचाउनका लागि परिस्थितिकीय प्रणालीमा आधारित बासस्थान व्यवस्थापन गर्नुपर्ने र बाघको आहरा प्रजातिका लागि आवश्यक पर्ने घाँसेमैदान र सिमसारलगायतका पानीका स्रोतको दिगो संरक्षणमा विशेष ध्यान दिन सम्बन्धित पक्षलाई आह्वान समेत गरेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५