नेपालमा थप ३ सय ११ मा कोरोना संक्रमण


काठमाडौं । मुलुकभर आज मंगलबार थप ३११ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा मुलुकभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा गरिएको जम्मा पाँच हजार ३२ पिसीआर परीक्षणमा उक्त सङ्ख्यामा सङ्क्रमित भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी कोरोनाका कारण थप एक जनाको निधन भएको छ । बझाङको बुंगल गाउँपालिका–३ स्थायी ठेगाना भएका ६५ वर्षीय पुरुषको साउन ९ गते आफ्नै घरमा निधन भएको हो । दम रोगका बिरामी उनी गत असार २४ गते भारतको बैंगलोरबाट घर फर्किएका थिए ।
यो सँगै नेपालमा कोरोनाका कारण निधन हुनेको सङ्ख्या जम्मा ४९ पुगेको मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिनुभयो । साथै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १२१ रहेको र हालसम्म कोरोना सङ्क्रमण निको भएर घर फर्किनेको जम्मा सङ्ख्या १३ हजार ८७५ जना पुगेको मन्त्रालयले जनाएको छ ।
हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार १३९ रहेको छ । मुलुकभरका विभिन्न क्वारेन्टिनमा हाल १५ हजार ३३१ व्यक्ति रहेको उहाँले जानकारी दिनुभयो । सरकारले हाल काठमाडौँ उपत्यका प्रवेश गर्ने विभिन्न तीन नाकाबाट कोरोना सङ्क्रमण जाँचका लागि नमूना सङ्कलन गरिरहेको छ ।
यसैक्रममा आज साँझ ४ बजेसम्ममा फर्फिङ नाकाबाट ९५५, थानकोट नागढुङ्गाबाट दुई हजार ९१४ र साँगा ९४४ गरी जम्मा चार हजार ८१३ पिसीआर परीक्षणका लागि नमूना सङ्कलन गरिएको छ । उक्त नमूनाको रिपोर्ट आएपछि यथाशिघ्र जानकारी गराइने मन्त्रालयका प्रवक्ता गौतमले बताउनुभयो ।
मुलुकमा बन्दाबन्दी खुलेपनि कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले आवश्यक स्वास्थ्य सावधानी अपनाउन मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५