पूर्व गोर्खा सैनिकको भत्ता कटौती भएकामा गेसोद्वारा सर्वोच्चमा मुद्दा दायर


लन्डन । आन्दोलनरत गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले नेपाल सरकारविरुद्ध पनि रिट दायर गरेको छ । ज्येष्ठ नागरिक (सिनियर सिटिजन) लाई सम्मानस्वरूप दिंदै आएको सामाजिक सुरक्षा भत्ता कटौती गर्ने नेपाल सरकार मन्त्रीपरिषद् बैठकद्वारा गरिएको निर्णय विरुद्ध गेसोले उक्त कदम चालेको हो ।
सामाजिक सुरक्षा भत्ता कटौती गरि विदेशी सेनामाथि विभेद गरेको भन्दै बेलायती सेना, भारतीय सेना र सिंगापुर पुलिसको तर्फबाट साउन ५ गते संयुक्त रुपमा सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।
समग्र गोर्खाहरुको अधिकारको निमित्त कानूनी लडाई लड्ने उद्देश्यले गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले नेपाल सरकारलाई विपक्षी बनाइ रिट दायर गरेको गेसो सभापति कृष्णकुमार राईले जानकारी दिए ।

सभापति कृष्णकुमार राई
हालै मात्र नेपाल सरकारले विदेशी सेनामा काम गरेवापत पेन्सन पाउँदै आइरहेकाहरुलाई नेपालमा उपलब्ध वृद्धभत्ता तथा सामाजिक सुरक्षा भत्ता लगायतका सुविधाहरु कटौती गर्ने निर्णय गरेको थियो । सरकारको यस निर्णयले विदेशी सेनामाथि विभेद गरेको गेसोले बताएको छ । ‘यो एउटा राष्ट्रिय मुद्दा हो, हाम्रो विजय अवश्य हुनेछ’ गेसो सभापति राईले भने ।
गेसोले विगत तीन दशकदेखि न्यायिक समानताका लागि बेलायत विरुद्ध आन्दोलन गर्दै आएको छ । यस अवधिभित्र गेसोले थुप्रै उपलब्धि समेत हात पारेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५