नेपालमा थप १ सय ८६ जना कोरोना संक्रमित, १ सय ७३ जना निको भए


काठमाण्डौं । देशभरमा आज थप १८६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । योसँगै सक्रिय सङ्क्रमितका सङ्ख्या पाँच हजार ३६ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालामा चार हजार २१६ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । योसँगै सङ्क्रमितको जम्मा सङ्ख्या १७ हजार ८४४ पुगेको छ ।
प्रदेशअनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या प्रदेश १ मा ९३, प्रदेश २ मा एक हजार ९३३, बागमती प्रदेशमा ३९९, प्रदेश ५ मा ४१०, कर्णाल प्रदेशमा २९९ र सुदूर पश्चिम प्रदेशमा दुई हजार ४१८ रहेको छ । प्रवक्ता डा गौतमका अनुसार हाल क्वारेन्टिनमा २२ हजार २२८ जना रहेका छन् ।
कोभिड–१९ बाट सङ्क्रमण मुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको १७३ छ । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ११ हजार ८६८ रहेको छ । जम्मा सङ्क्रमितमध्ये ६६ दशमलव ५१ प्रतिशत निको भएको उहाँले बताउनुभयो ।
हाम्रो स्वास्थ्य एप्लिकेशन डाउनलोड गर्नेको सङ्ख्या एक लाख ६१ हजार २० छ । त्यसमा सक्रिय प्रयोगकर्ता ८७ हजार पाँच छन् । आज मात्रै ८७ जनाले इन्ट्री गरेकामा रेड जोनमा एक जना अर्घाखाँचीका व्यक्ति परेको मन्त्रालयले जनाएको छ । मन्त्रालयको वेबसाइट हेर्ने र भाइबरमा जोडिनेको सङ्ख्या उल्लेख्य छ ।
सार्क देशमध्ये नेपालमा परीक्षण दर प्रतिदश लाखमा अफगानिस्तान, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान र भारतभन्दा अगाडि रहेको प्रवक्ता डा गौतमले बताउनुभयो ।
नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको सङ्ख्या बङ्गलादेश, भारत, मालदिभ्स, अफगानिस्तान र पाकिस्तानभन्दा कम छ । त्यस्तै, सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढिरहेका तीन जिल्लामा रौतहट, कैलाली र बाजुरा रहेका छन् ।
हाल एक जना पनि सङ्क्रमित नभएका जिल्लामा भोजपुर, पाँचथर, धनकुटा, सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङ रहेका छन् ।
आज देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ सङ्क्रमित भेटिएका जिल्लामा सुनसरी, झापा, इलाम, मोरङ, सिराहा, सप्तरी, धनुषा, पर्सा, बारा, काठमाडौँ, सर्लाही, सोलुखुम्बु, ललितपुर, कास्की र लमजुङ रहेका छन् ।
त्यस्तै तनहुँ, स्याङजा, बाँके, रोल्पा, सल्यान, रुकुमपूर्व, दाङ, दैलेख, सुर्खेत, हुम्ला, कालिकोट, डोटी र कैलालीमा पनि नयाँ सङ्क्रमित फेला परेको मन्त्रालयले जनाएको छ । गाउँघरमा साँघुरो ठाउँमा बस्दा कोरोनाको जोखिम हुने भन्दै सतर्क रहन प्रवक्ता डा गौतमले सबैलाई अनुरोध गर्नुभयो ।
उहाँका अनुसार वर्षाका कारण विभिन्न सरुवा रोगको जोखिम छ । उहाँले भन्नुभयो, “वर्षाका कारण पानी प्रदूषित भएर सरुवा रोग लाग्नसक्ने हुँदा सबै सजग हुनुपर्छ ।”
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५