सोमबार, मंसिर १०, २०८१
13:20
|
१९:०५
युरोपेली युनियनको शिखर बैठक सोमबार पुनः बस्ने
रासस-एएफपी
जुलाइ २०, २०२०
ब्रसेल्स, ५ साउन– कोरोनाभाइरसका कारण संकटमा परेका युरोपेली मुलुकहरुको आर्थिक उत्थानका लागि अघि सारिएको ८ खर्ब ६० अर्ब डलरको एउटा राहत योजनामा सहमति जुटाउन युरोपेली युनियनका नेताहरु पुनः सोमबार वार्तामा बस्न लागेका छन् । यस शिखर बैठकमा युरोपेली युनियनमा आबद्ध २७ मुलुकका सरकार प्रमुखहरु सहभागी छन् ।
कोरोनाभाइरसबाट अत्यन्त प्रभावित देशहरुमा स्पेन, इटाली समेतका बहुसंख्यक युरोपेली देशहरु पनि रहेका छन् । युरोपमा मात्र कोरोनाभाइरसका कारण दुई लाखभन्दा बढीको मृत्यु भएको थियो । तर शिखर बैठकमा नेताहरुबीच प्रस्तावित योजना र रकमको बाँडफाँडका विषयमा मतैक्य हुन सकेको छैन् ।
युरोपेली युनियनले तयार पारेको प्रस्तावमा अनुदान र ऋणको भारका विषयमा युरोपेली नेताहरुबीच फरक फरक धारणा छ । नेताहरुबीच मतैक्य हुन नसकेपछि निराश भएका युरोपेली परिषदका अध्यक्ष चाल्र्स मिचेलले सहभागी नेताहरुलाई युरोपेली जनताप्रति जिम्मेवार हुन र युरोपेली एकता निर्माणलाई सक्षम तुल्याउन आग्रह गर्नु भएको छ । उहाँले संकटलाई मानवीय मूल्यसँग नदाँज्न आग्रह गर्नु भएको छ ।
नेदरल्याण्ड्स समेतका केही युरोपेली मुलुकका नेताहरुले करिब ७ खर्ब ५० अर्ब युरो स्पेन र इटालीजस्ता सुशासनमा कमजोर देखिएका मुलुकलाई सित्तैमा बाँड्न नहुने बताइरहेका छन् । नेदरल्याण्ड्स समेतका केही मुलुकको अबरोधका कारण प्रस्तावित योजना पारित हुने आशा अत्यन्त झिनो भएको जर्मनीका चान्सलर एन्जेला मर्केलले यसअघि नै बताइसक्नु भएको छ । तैपनि शीर्ष बैठक जारी राख्न सबै मुलुक सहमत भएका छन् ।
युरोपेली महादेशका धेरैजसो देशले कोरोनाभाइरसको महामारीलाई नियन्त्रणमा ल्याइसकेका छन् र जनजीवन अझ सहज तुल्याउन विभिन्न योजना अघि सारिएका छन् । फ्रान्सले सिनेमा हलजस्ता भित्री सार्वजनिक स्थलमा अनुहारमा मास्क लगाउन अनिवार्य गरेको छ भने कोरोनाभाइरसका केही बिरामी देखिएपछि स्पेनमा लाखौं मानिसलाई घरभित्रै बस्न भनिएको छ । जर्मनीको बाभारिया राज्यले भने आफ्ना विमानस्थलमा निःशुल्क भाइरस परीक्षणको व्यवस्था मिलाएको जनाएको छ ।
तर, लन्डनमा मास्क विरोधी प्रदर्शनले सरकारी निकायमाथि थप दबाब सिर्जना गरेको छ । इङ्ल्यान्डका पसल एवं सुपरमार्केटमा दर्जनौं प्रदर्शनकारीले मास्क लगाउन बाध्य बनाइएको भन्दै आइतबार त्यसको विरोध गरेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ