कोभिडले अधुरै रहे दूतावासका यी महत्वपूर्ण कार्यक्रम
बेलायती अधिकारीहरुसंग 'भर्चुअल संवाद' जारी


लन्डन । लन्डनस्थित नेपाली दूतावासमा झण्डै चार महिनायता कुनै सार्वजनिक कार्यक्रम भएका छैनन् । लकडाउन अघिसम्म कुनै न कुनै गतिविधिमा नेपाली समुदायलाई निम्त्याइरहने दूतावास अहिले सुनसान छ । सेवाग्राहीको आवतजावत छ तर ‘पब्लिक जमघट’ ठप्प छ ।
दूतावासले ‘कोभिड १९’ महामारीका कारण महत्वपूर्ण केही कार्यक्रमहरु गर्न पाएन । दूतावासका उपनियोग प्रमुख शरदराज आरनका भनाइमा इंग्ल्याण्ड र नेपाली राष्ट्रिय फुटबल टिमबीच मैत्रीपूर्ण खेल, ‘भिजिट नेपाल २०२० अभियान’ र भूतपूर्व गोर्खाहरुका समस्या समाधानको पहल कोभिडकै कारण अधुरो रहयो । ‘माथिका इभेन्टमा त्यत्रो तयारीका लागि गरिएको मिहेनत ब्यर्थ खेर जांदा महामहिमज्यूले पनि खल्लो महशुस गर्नुभएको छ’, आरनले भने, ‘विभिन्न कमिटी बनेर भ्रमण वर्ष कार्यक्रमहरु तय भएकाले बेग्लै माहोल सिर्जना गर्दथ्यो तर हुन पाएन ।’
राजदूत डा. दुर्गाबहादुर सुवेदी बेलायत नेपाल कूटनीतिक सम्बन्धको करिब २०४ वर्षको इतिहासमा पहिलोपटक बेलायतमा इंग्ल्याण्ड र नेपाली राष्ट्रिय फुटबल टिमबीच मैत्रीपूर्ण खेल खेलाउन चाहन्थे । उक्त खेल गत २५ मेका दिन तय थियो, जुन स्थगित भयो । अल्डरसट टाउन फुटबल क्लवमा गर्ने भनिएको उक्त खेलका लागि एन्फा र एफएले तयारी गरिरहेका थिए । नेपाली समुदाय पनि जुटिसकेको थियो ।

राजदूत डा दुर्गाबहादुर सुवेदी
राजदूत डा. सुवेदीको अर्को सपना भूतपूर्व गोर्खाहरुले भन्दै आएको ‘ऐतिहासिक विभेद’ अन्त्य गराउनु पनि थियो । उनले बेलायती रक्षामन्त्रीकै संलग्नतामा वार्ता कमिटी गठन गरेर कयौंपटक भूतपूर्व गोर्खा, नेपाल र बेलायत सरकारका प्रतिनिधिबीच वार्ता पनि गराएका थिए । ‘कोभिड १९’ पछि यो श्रृंखला पनि रोकिएकामा राजदूत दुःखी छन् । ‘स्थिति सामान्य बनेपछि पूर्व निर्धारित कार्यक्रम अगाडि बढ्ला तर जुन स्प्रिटमा काम गर्ने चाहना थियो, बीचमा अवरोध आउंदा नमज्जा हुने रहेछ’, आरनले नेपाली लिंकसंग भने ।
राजदूत सुवेदी, उपनियोग प्रमुख आरनसहित अन्य केही कर्मचारीको कार्यकाल यही वर्षभित्र सकिंदैछ । माथि उल्लेखित इभेन्ट आफ्नै कार्यकालमा गर्न उत्साहित थियो ‘डिप्लोम्याट्स’ को यस समूह ।
‘कोभिड १९’ का कारण सार्वजनिक कार्यक्रम रोकिएपनि बेलायत सरकारसंग कूटनीतिक र अन्य सहयोग आदानप्रदान सम्बन्धि पहल जारी रहेको आरनले बताए । ‘महामहिमज्यूको बेलायती अधिकारीहरुसंग ‘भर्चुअल संवाद’ भइरहेको छ’, प्रवक्ता आरनले सुनाए, ‘सेवाग्राहीहरु पनि एनआरएन कार्ड, वारेसनामा, राहदानी, ट्राभल डकुमेन्ट आदि बनाउन आइरहनु भएको छ ।’
दूतावासले लकडाउनका कारण बेलायतमा अड्किएका २२९ जना नेपालीलाई दुईवटा चार्टर विमानमा नेपाल पठाएर थप प्रशंसा बटुलेको छ । छुटेका अन्य केही नेपालीलाई फर्काउन पनि दूतावासबाट चिठी बनाइदिने काममा सहयोगी बनेको कर्मचारी बताउंछन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५