बिहीबार, पुष ११, २०८१
04:40
|
१०:२५
नेपालमा थप १ सय ४४ जनामा कोरोना पुष्टि
सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आजसम्मकै उच्च
रासस
जुलाइ १३, २०२०
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट सङ्क्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या एक हजार ७०५ रहेको छ । निको हुनेको सङ्ख्या नेपालमा कोभिड–१९ सङ्क्रमण देखिए यताकै उच्च हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले आजसम्म डिस्चार्ज हुनेको सङ्ख्या १० हजार २९४ पुगेको बताए । कूल कोरोना सङ्क्रमितमध्ये ६० दशमलव सात प्रतिशत उपचारपछि घर फर्किएका मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप १४४ कोभिड–१९ सङ्क्रमित थपिएका छन् । विभिन्न २५ प्रयोगशालामा गरिएका पाँच हजार ८५६ नमूना परीक्षणमा ८२ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिए । यससँगै कोरोना सङ्क्रमितको कूल सङ्ख्या १६ हजार ९४५ पुगेको छ ।
प्रदेशगतरुपमा आज कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये प्रदेश नं १ मा छ, प्रदेश नं २ मा ४१, बागमती प्रदेशमा १३, गण्डकी प्रदेशमा आठ, प्रदेश नं ५ मा १४, कर्णाली प्रदेशमा ४६ र सुदूरपश्चिम प्रदेशमा १६ जना रहेका छन् ।
देशभरका क्वारेन्टिनमा हाल २३ हजार ४७० रहेका छन् । आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ६१३ रहेको छ । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३८ छ ।
हालसम्म प्रदेश नं १ मा एक जनाको पनि कोभिड–१९ का कारण मृत्यु भएको छैन भने प्रदेश नं २ मा चार, बागमती प्रदेशमा नौ र गण्डकी प्रदेशमा पाँच जनाको मृत्यु भएको छ । त्यस्तै, प्रदेश नं पाँचमा १० जना, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा छ जनाको मृत्यु भइसकेको छ ।
प्रवक्ता डा गौतमले दिएको हालसम्मको तथ्याङ्कअनुसार विश्वभर एक करोड ३० लाख ४९ हजार १०७ कोरोना सङ्क्रमित भएका छन् । कोरोनाले पाँच लाख ७१ हजार ८०७ को निधन भइसकेको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकमध्ये नेपाल पीसीआर परीक्षण गर्ने मुलुकमा अगाडि रहेको छ । भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान र अफगानिस्तानभन्दा अगाडि रहेको छ । त्यस्तै, प्रति दश लाख जनसङ्ख्यामा कोरोनाका कारण मृत्यु हुनेमा पनि नेपालमा अफ्गानिस्तान, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान र भारतभन्दा कम छ ।
नेपालमा ५०० भन्दा बढी सङ्क्रमित रहेका जिल्लामा महोत्तरी, रौतहट, कैलाली र बाजुरा रहेका छन् । त्यस्तै, हाल सङ्क्रमित नरहेको जिल्ला धनकुटा, भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला गरी पाँच छन् ।
काठमाडौँ उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढिरहेकाले अस्पताल, बैंकलगायतका स्थान सजगता गरिने प्रवक्ता गौतमले बताए । उनले जिल्ला जिल्लामा क्वारेन्टिनमा रहेका व्यक्ति घर फर्किएकाले त्यहाँ रहेका सामग्री र फोहरको उचित व्यवस्थापन गर्नुपर्नेमा पनि जोड दिए । उनले भने, “फोहर यत्रतत्र नफाल्न र उचित व्यवस्थापनका लागि हामी सबैलाई अनुरोध गर्दछौँ ।”
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ