शनिबार, मंसिर ८, २०८१
17:19 | २३:०४

एकै दिन १५ अन्तर्राष्ट्रिय उडान, ११ सयबढी नेपाली स्वदेश फर्किए

रासस जुन २५, २०२०


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार पनि एकै दिन १५ अन्तर्राष्ट्रिय उडान भएका छन् ।

यसअघि बुधबार र मङ्गलबार पनि अन्तर्राष्ट्रियतर्फ समान १४ उडान भएको थियो । यी सबै उडान यात्रु चार्टर्ड तथा कार्गो हुन् । विभिन्न मुलुकबाट उद्धार उडानमार्फत आज एक हजार ३०० भन्दा बढी नेपाली स्वदेश फर्किएका छन् ।

विभिन्न एयरलाइन्सले विदेशमा अलपत्र परेका नेपालीलाई धमाधम चार्टर्ड उडान गरी काठमाडौं ल्याइरहेका हुन् । आज नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिताबाट २४२ यात्रु र दुई बच्चा र कुवेतबाट १४९ यात्रु काठमाडौँ ल्याएको छ । सोही एयरलाइन्सका दुई जहाज नेपाली ल्याउन बहराइन उडेको विमानस्थलले जनाएको छ ।

त्यस्तै हिमालय एयरलाइन्सले अबुदाबीबाट १५४ र दोहाबाट १५६ यात्रु काठमाडौं ल्याएको विमानस्थलले विज्ञप्तिमार्फत जनाएको छ । जजीरा एयरलायन्सले कुवेतबाट १४६ यात्रु र एक बच्चा ल्याएको छ । उक्त एयरलाइन्सको जहाज नेपाली ल्याउन पुनः कुवेत उडेको छ ।

कतार एयरवेजले दोहाबाट १४७ यात्रु काठमाडौँ ल्याएको छ । फ्लाइ दुबईले दुबईबाट १८९ यात्रु र एक बच्चा ल्याएको छ । सोही एयरलाइन्सको अर्को उडानले जम्मा एक यात्रु काठमाडौँ ल्याएको जनाइएको छ । शुक्रबार पनि अन्तराष्ट्रियतर्फ १० उडान हुने कार्यतालिका विमानस्थलले सार्वजनिक गरेको छ । दमाम, रियाद, याङ्गुन, बहराइन, क्वालालम्पुर र मेलबर्नमा चार्टर्ड उडान हुने विमानस्थलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू