काठमाडौं पुग्यो बेलायतका नेपाली बोकेको चार्टर उडान


लण्डन । बेलायतका नेपाली बोकेर बुधबार लन्डनबाट उडेको चार्टर उडान काठमाडौं पुगेको छ । लन्डनको ग्याटविक एयरपोर्टबाट बुधबार अपरान्ह छुटेको जजिरा एयरवेजको विमान बिहीवार बिहान साढे ८ बजे काठमाडौं अवतरण गरेको छ ।
यो उडानमार्फत लकडाउनले बेलायतमा रोकिएका १ सय ४६ जना नेपाली स्वदेश फर्किए ।
भिसा अवधि सकिएका, नेपालमा बाबुआमाको मृत्यु भएर काजक्रिया गर्न जान लागेका, पढाइ सकिएका वा बीचमा छोडेरै जान लागेका विद्यार्थी, तालिमलाई आएका कर्मचारी र सेनाका अधिकृत, जाँच दिन आएका डाक्टर, महामारीका बेला रोजगारी गुमाएका कामदार तथा बेलायतमा घरेलु कामदारका रुपमा कार्यरत नेपालीहरु चार्टर उडानमा नेपाल गएका हुन् ।
यसअघि गैरआवासीय नेपाली संघ यूकेको सहयोगमा दूतावासले नेपाल फर्कन जरुरी अवस्थामा रहेका बेलायतस्थित झण्डै ५ सय नेपालीको सूची तयार गरेको थियो । सोही सूचीबाट पहिलो प्राथमिकतामा पर्नेहरु पहिलो उडानमै उड्ने मौका पाएका हुन् ।
बेलायतमा अलपत्र नेपालीको उद्धारका लागि नेपाल सरकारले व्यवस्था गरेको दुई चार्टर उडानमध्येको दोस्रो उडान भने शुक्रबार हुनेछ । उक्त उडानमा जानेहरुलाई यथाशीघ्र आफ्नो टिकट काटेर यात्रा सुरक्षित गर्न लन्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५