बेलायतमा २४ घण्टामा कोरोनाबाट मात्र १५ जनाको मृत्यु


लण्डन । बेलायतमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्यामा लगातार गिरावट आइरहेको छ । पछिल्लो २४ घण्टामा देशभर कोरोनाबाट मात्रै १५ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ ।
गएको २४ घन्टाको सार्वजनिक दैनिक मृत्युको संख्या गत मार्च २३ मा लकडाउन शुरु भएयताकै सबैभन्दा न्यून हो । विकेण्डमा मृत्युहरुको रिपोर्टिङ सुस्त हुने कारण पनि पछिल्ला दुई दिनमा मृतकको संख्या निकै न्यून देखिएको हो ।
तर साताका अन्य दिनमा पनि मृत्यु संख्यामा लगातार गिरावट आइरहेको छ । यससंगै बेलायतमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको जम्मा संख्या ४२ हजार ६ सय ४७ पुगेको छ ।
त्यसैगरी, हालसम्म संक्रमित हुनेहरुको संख्या ३ लाख ५ हजार २ सय ८९ पुगेको छ । गएको २४ घन्टामा संक्रमणका नयाँ केसहरु ९ सय ५८ ले वृद्धि भएका छन् ।
हालसम्म बेलायतमा ८० लाख २९ हजार ७ सय ५७ जनामा कोरोना परिक्षण गरिसकिएको छ । कोरोना संक्रमित र मृत्युदरमा कमी आएसंगै सरकारले लकडाउनमा थप लचकता अपनाउने भएको छ ।
आगामी जुलाई ४ बाट पब, रेष्टुरेन्ट लगायत हस्पिटालिटी क्षेत्रका व्यावसाय खोल्न पाउने आश्वासन सरकारले यसअघि नै दिइसकेको छ ।
यसैगरी ६ तारिखबाट लकडाउन थप सहज पार्दै सामाजिक दुरीलाई न्यूनीकरण गरेर एक मिटरमा कायम गरिने तथा आफन्तसंगको भेटघाटमा पनि सहजता अपनाइने अनुमान गरिएको छ ।
लकडाउनको सहजीकरणबारे भोलि मंगलबार प्रधानमन्त्री बोरिस जोन्सनले विस्तृत रुपमा जानकारी दिने बताइएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५