सरिता गिरीको संशोधन प्रस्ताव अस्वीकृत


काठमाडौँ । प्रतिनिधिसभाको शनिबारको बैठकमा मुलुकको नयाँ नक्सालाई अनुसूचीमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ मा समाजवादी पार्टीकी सरिता गिरीले दर्ता गरेको संशोधन प्रस्ताव प्रस्तुत गर्नबाटै अस्वीकृत भएको छ ।
बैठक प्रारम्भ हुनासाथ सभामुख अग्निप्रसाद सापकोटाले उक्त विधेयकमाथि दफावार छलफलका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बोल्न समय दिँदा सांसद गिरीले उठेर बोल्न खोजेपछि सभामुखले उनको संशोधन अस्वीकृत भएकाले बोल्न समय दिन नसकिने जानकारी दिए ।
सभामुख सापकोटाले गिरीले पेश गरेको संशोधन प्रतिनिधिसभा नियमावली, २०७५ को दफा ११२ को (२) बमोजिम प्रक्रिया पूरा नभएकाले अस्वीकृत भएको घोषणा गरी आफ्नो स्थानमा बस्न आग्रह गरे । सांसद् गिरीले बोल्न समय माग गर्दा अन्य सांसद्ले समय नदिन हुटिङ गरेका थिए ।
सो उपदफामा कुनै विधेयकमाथि सांसद्को संशोधनलाई स्वीकृत वा अस्वीकृत गर्ने अधिकार सभामुखलाई दिइएको छ । गिरीले नयाँ नक्सामा समावेश भएको कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूगाग हो भन्ने प्रमाण नभएको जिकिर गरी संशोधन पेश गरेकी थिइन् ।
उक्त संशोधन पार्टीको सहमति विपरीत भएकाले फिर्ता लिन पार्टीले गिरीलाई निर्देशन दिएकोमा उनले अटेर गर्दै आएकी थिइन् । सो विषयमा गिरीका अभिव्यक्ति र संशोधनलाई राष्ट्रियताविरोधी भनी आलोचना भएको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५