आइतबार, पुष १४, २०८१
16:49 | २२:३४

संयुक्त राष्ट्रसंघको आइओएम र एनआरएनए पदाधिकारीबीच छलफल

नेपाली लिङ्क जुन ११, २०२०

 

लन्डन । कोरोना भाइरस (कोभिड–१९) बाट विदेशमा अलपत्र परेका नेपाली श्रमिकको समस्यालाई लिएर गैरआवासीय नेपाली संघले संयुक्त राष्ट्रसंघमा छलफल गरेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीका अनुसार राष्ट्रसंघ अन्तर्गतको इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन (आइओएम) सँग संघका अध्यक्ष कुमार पन्तसहितको टोलीले छलफल गरेको हो ।

बुधबार भिडियो कन्फरेन्समार्फत् भएको छलफलमा राष्ट्रसंघअन्तर्गत नेपाल मिसनकी प्रमुख लोरेना लान्डाले आइएमओ विदेशमा रहेका नेपालीको उद्दारका लागि सहयोग गर्न इच्छुक रहेको जानकारी दिएकी थिइन् ।

उनले कोरोना भाइरसको संक्रमणका कारणले नेपाल फर्किएका नेपालीलाई विमानस्थलबाट होल्डिङ सेन्टरसम्म लैजानसमेत सहयोग गर्न सकिने बताएकी थिइन् ।

आइओएमले विश्वभरका आप्रवासी श्रमिकका लागि सहयोग गर्दै आएको स्मरण गर्दै उनले नेपाल सरकार र गैरआवासीय नेपाली संघसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाइन् ।

झन्डै दुई घन्टा लामो छलफलमा गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले गैरआवासीय नेपाली संघ र कोभिड-१९ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

डा. शर्माले संघको भूमिका र कोभिड-१९ को प्रभावमा परेका नेपालीका बारेमा आ-आफ्ना भनाइ राख्दै संयुक्त राष्ट्रसंघका सबै पक्षलाई सहयोगको लागि आग्रह गरेका थिए । झन्डै ८० लाख नेपाली विदेशमा रहेको बताउँदै उनले आइएमओ र संघबीच धेरै समान एजेन्डा रहेको बताएका थिए ।

उनले आइओएमसँग नेपाल फर्किएका श्रमिकको पुनर्स्थापना, कार्य क्षमता संकलन लगायत अन्य धेरै विषयमा संयुक्त रुपमा काम गर्न सकिने बताएका थिए ।

बैठकमा सांसद गंगालाल तुलाधारले कोभिड-१९ ले नेपालमा पारेको प्रभावको विषयमा जानकारी गराएका थिए । संघअन्तरगतको एनआरएनए फाउन्डेसन परियोजना प्रमुख एकनाथ खतिवडाले बैठकको समन्वय गरेका थिए ।

गैरआवासीय नेपाली संघका अनुसार आइओएमओ प्रमुख लान्डाले तत्काल दुई संस्थाबीच समान धारणा तय गरी सम्झौता (एमओयु) गरेर अघि बढ्न सकिने बताएकी थिइन् ।

नेपालले सन् २००६ मा इन्टरनेश्नल अर्गनाइजेसन फर माइग्रेसनको सदस्यता लिएपछि सो संस्था सन् २००७ देखि नेपालमा आप्रवासीहरुको हक र हितको लागि सक्रिय छ ।

आइओएमले नेपालमा २०७२ मा भूकम्प गएको बेला देशका विभिन्न भागमा स्वास्थ्य शिविर सञ्चालन गरेर पीडितलाई सहयोग गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू