बेलायतमा ‘फर्लो स्किम’ मा सरकारबाटै तलब लिनेहरु ८९ लाख



फर्लो स्किमबाट महामारीका बेला बन्द कम्पनीहरुमा कार्यरत लाखौं कामदारहरुले आफ्नो तलबको ८० प्रतिशत सरकारबाटै पाइरहेका छन् ।
लण्डन । कोरोना महामारीका बेला काम गर्न असमर्थ कामदारहरुको लागि बेलायत सरकारले ल्याएको ‘फर्लो’ राहत स्किमबाट दशौं लाख मानिस लाभान्वित भएका छन् ।
बेलायत सरकारको अर्थ मन्त्रालयले उक्त स्किमअन्तर्गत अहिले ८९ लाख कामदारहरु समेटिएको जानकारी गराएको छ ।
सरकारले महामारीका बेला बेरोजगारी सिर्जना नहोस् र कम्पनीहरुलाई टिकिराख्न नसक्ने स्थिति नबनोस् भनेर फर्लो स्किम घोषणा गरेको थियो । जुन स्किमअनुसार हरेक कामदारको तलबको ८० प्रतिशत (२५ सय पाउण्डसम्म) सरकारले व्यहोर्दै आएको छ ।
फर्लो स्किमअन्तर्गत बेलायतको कुल वर्कफोर्सको एक चौथाईभन्दा बढीले सरकारबाट तलब सुविधा लिइरहेका छन् ।
गत मार्चदेखि नै लागू भएको यो स्किम आउँदो अक्टोबरसम्मको लागि घोषणा गरिसकिएको छ । जसको व्यवस्थापनको लागि अहिलेसम्म नै बेलायत सरकारको ढुकुटीबाट १९ दशलव ६ विलियन पाउण्ड खर्च भइसकेको छ ।
शुरुमा जुनसम्मको तीन महिनाका लागि घोषित फर्लो स्किमको म्याद बढाएर अक्टोबरसम्म पुर्याइएको छ । जसअनुसार अक्टोबरसम्म नै सरकारले कामदारहरुको लागि उनीहरुको तलबको ८० प्रतिशत उपलब्ध गराउँदै जानेछ ।
तर अगस्ट महिनादेखि भने सरकारले उपलब्ध गराएको सहायताको केही अंश कम्पनीहरुले पनि व्यहोर्नुपर्ने बताइएको छ ।
बेलायत सरकारले ‘सेल्फ इम्प्लोइड’ हरुको लागि घोषणा गरेको राहत स्किमबाट पनि २६ लाख मानिस लाभान्वित भएका छन् ।
उनीहरुको लागि अहिलेसम्म सरकारको साढे ७ विलियन पाउण्ड खर्च भइसकेको जनाइएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५