यूकेबाट नेपाल फर्किन चाहने ३ सय ९१ को विवरण सरकारलाई पठाइयो



लण्डनस्थित नेपाली दूतावास
लन्डन । नेपाल फर्किन जरुरी अवस्थामा रहेका बेलायतस्थित झन्डै ४ सय नेपालीको विवरण नेपाल सरकारलाई पठाइएको छ ।
लकडाउनका कारण बेलायतमै रोकिएका र नेपाल फर्किनपर्ने अवस्था रहेको भन्दै लन्डनस्थित नेपाली दूतावासमा नाम दर्ता गरेका ३ सय ९१ जनाको विवरण सोमबार काठमाडौं पठाइएको दूतावासले जनाएको छ ।
दूतावासका प्रवक्ता शरदराज आरनका अनुसार बेलायतबाट नेपाल फर्किन चाहनेहरुको सूचीमा सबैभन्दा बढी १ सय ५४ जना भिसा सकिएका वा यही महिना सकिन लागेकाहरु छन् ।
त्यस्तै, रोजगारी गुमाएर बिचल्लीमा परेका ९६ जना तथा विद्यार्थीहरु ५० जना छन् । नेपाल फर्किन खोज्ने विद्यार्थीमा केही अध्ययन पूरा गरिसकेका तर लकडाउनले रोकिएका छन् भने कतिपय अध्ययन पूरा नहुँदै फर्किन चाहने छन् ।
सूचीमा तालिमका लागि आएका नेपाली सेनाका ५ अधिकृत र परीक्षाका लागि आएका २१ जना चिकित्सक पनि छन् ।
त्यसैगरी, अत्यावश्यक कामको लागि नेपाल जानुपर्ने कारण देखाएका बेलायतमै बस्ने विभिन्न ६५ जनाको नाम पनि सूचीमा छ ।
दूतावासले रोजगारी गुमाएर बिचल्लीमा परेका माल्टाका ५ जना र केम्यान आइल्यान्डका ५६ जनाको नाम पनि सरकारलाई पठाइएको जनाएको छ ।
महामारीका बेला विदेशमा अलपत्र नागरिकलाई स्वदेश फर्काउने नेपाल सरकारको नीतिअनुसार लन्डनस्थित दूतावासले नेपाल फर्किन जरूरी हुनेहरुलाई आफ्नो विवरण बुझाउन आव्हान गरेको थियो ।
दूतावासमा विवरण बुझाएका र विभिन्न अवस्थाले प्राथमिकतामा परेकाहरुको नाम सरकारलाई पठाइएको प्रवक्ता आरनले बताए ।
तर, सूचीमा हुनेहरुको लागि कहिलेसम्म स्वदेश फर्किने उडान व्यवस्था होला भनेर अहिले नै भन्न सकिने अवस्था नरहेको उनी बताउंछन् । यसका लागि नेपाल सरकारकै निर्णय पर्खिनुपर्ने उनको भनाइ छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५