बेलायतवासी समाजसेवीले किनिदिएको जग्गामा बन्ने भयो गुल्मीमा हेल्थ सेन्टर



जग्गा खरिदका लागि सहयोग दिने क्रममा समाजसेवीद्वय मोतिराज भण्डारी र तारानाथ भण्डारी, साथमा वडा अध्यक्ष लक्ष्मी भण्डारी (बीचमा)
लण्डन । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका ७ रुपाकोट, म्यालपोखरामा हेल्थ सेन्टर निर्माणको लागि १ करोड २० लाख रुपियाको बजेट परेको छ ।
सरकारले हालै प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा उक्त रकम सो हेल्थ सेन्टरको लागि विनियोजन भएको हो ।
यसअघि बेलायतमा बस्दै आएका समाजसेवीद्धय मोतिराज भण्डारी र तारानाथ भण्डारीले हेल्थ सेन्टर निर्माणको लागि आवश्यक जग्गा खरिदका लागि आर्थिक सहयोग प्रदान गरेका थिए । स्थानीय गाउँवासीहरुको आग्रहमा हेल्थ सेन्टरको जग्गा खरिद गर्न भण्डारीद्धयले ७ लाख रुपियाको सहायता उपलब्ध गराएका थिए ।
‘झण्डै दुई वर्ष अघि गुल्मी जिल्ला समाज यूकेका तर्फबाट सहयोग हस्तान्तरण गर्न हामी गुल्मी पुगेका थियौं । सोहि मौकामा हाम्रो गाउँ रुपकोट पुग्दा स्थानीयले हेल्थ सेन्टरको लागि जग्गा खरिद गर्न सहयोगको आग्रह गर्नुभयो’, गुल्मी जिल्ला समाज यूकेका सल्लाहकार मोतिराज भण्डारीले सम्झिए, ‘हामी दुई जनाले तत्काल नै हाम्रो व्यक्तिगत तर्फबाट ७ लाख रुपिया सहयोग दियौं र हेल्थ सेन्टरको लागि जग्गा खरिद गरिएको थियो ।’
हेल्थ सेन्टरको जग्गा खरिदपछि स्थानीय चन्द्रकोट गाउँपालिका अध्यक्ष द्रोण खत्री, वडा नम्बर ७ रुपकोटका अध्यक्ष लक्ष्मी भण्डारी लगायतको विशेष पहलमा सरकारबाटै बजेट छुट्टिएको भन्दै भण्डारीले सबैको सहयोगका लागि धन्यवाद दिए ।
उनका अनुसार आउँदो श्रावण महिनादेखि नै हेल्थ सेन्टर निर्माणको काम शुरु हुनेछ । एक वर्षभित्र भवन निर्माण पूरा गर्ने छ । हेल्थ सेन्टर विस्तारको लागि अर्को वर्ष थप बजेट प्राप्त हुने अपेक्षा गरिएको छ ।
आफूहरुको सहयोगमा जग्गा खरिद गरेर शुरु गरिएको हेल्थ सेन्टरको सपना साकार हुन लागेको भन्दै अर्का दाता एवम् गुल्मी जिल्ला समाज यूकेका उपाध्यक्ष तारानाथ भण्डारीले पनि खुशी व्यक्त गरे । हेल्थ सेन्टर निर्माण र सञ्चालनको प्रक्रियामा निरन्तर सहयोग गर्दै जाने उनको भनाइ छ ।

गाउँपालिका अध्यक्ष द्रोण खत्रीसंगै दाता तारानाथ भण्डारी।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५