बिहीबार, पुष ११, २०८१
17:14 | २२:५९

हिंसा भड्किएपछि झण्डै ४० अमेरिकी शहरमा कर्फ्यू

रासस-पीटीआई जुन १, २०२०

वासिङ्टन । प्रहरी नियन्त्रणमा रहेकै बेला अफ्रिकीमुलका एक अमेरिकी नागरिकको मृत्यु भएपछि अमेरिकामा भड्किएको हिंसा अहिले पनि रोकिएको छैन ।

देशभरका विभिन्न सहरमा प्रदर्शनहरु भएपछि हिंसा थप भड्किन नदिन स्थानीय सरकारहरुले करिब ४० शहरमा कर्फ्यू आदेश जारी गरेका छन् ।

केही दिनदेखि भइरहेको देशव्यापी प्रदर्शनका क्रममा कम्तीमा पाँच जनाको मृत्यु भइसकेको छ भने सयौँ घाइते भएका छन् । त्यसैगरी प्रदर्शनमा उत्रिएकामध्ये हजारौलाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ ।

अफ्रिकीमूलका अमेरिकी जर्ज फ्लोइडको प्रहरी नियन्त्रणमा रहेका बेला मिनियापोलिसमा मृत्यु भएको थियो । उनलाई एक स्वेत प्रहरीले हत्या गरेको भिडियो सार्वजनिक भएपछि अमेरिकाभर विरोध प्रदर्शन चर्किएको हो ।

सयौँ मानिसहरूले ४६ वर्षीय फ्लोइडको हत्यामा न्यायको माग गर्दै राष्ट्रपति कार्यालय ह्वाइट हाउस अगाडि पनि प्रदर्शन गरेका थिए ।

देशभरका झण्डै १ सय ४० शहरमा चर्को विरोध प्रदर्शन भएको र यति धेरै ठूलो प्रदर्शन अमेरिकामा कम हुने गरेको एक अधिकारीले बताएका छन् ।

गत छ दिनदेखि भइरहेको प्रदर्शनका क्रममा झण्डै दुई दर्जन सहरहरुबाट प्रहरीले दुई हजार ५ सय ६४ जनालाई पक्राउ गरेको थियो ।

घटनाका बारेमा प्रहरीले अनुसन्धान शुरु गरिसकिएको जनाएको छ भने दोषीलाई कारबाही गरिने भएकाले आन्दोलित नहुन सरकारी अधिकारीहरुले आग्रह पनि गर्दै आएका छन् ।

प्रहरीले कतिपय ठाउँमा अश्रु ग्यास र लाठी चार्ज गरेपनि प्रदर्शनकारीहरुलाई नियन्त्रण गर्न कठिन परिरहेको छ ।

जर्जियास्थित सीएनएनको कार्यालय नजिकै विरोध गर्ने क्रममा प्रदर्शनकारीले प्रहरीको एउटा कार जलाइदिएका थिए ।

हिरासतमा फ्लोइडको मृत्यु भएकोमा मिनियापोलिसका गोरा जातिका डेरेक चौविनलाई गिरफ्तार गरेर हत्या अभियोग लगाइएको छ । चौविन र थप तीनजना प्रहरीहरूलाई यही घटनाकै कारण सेवाबाट यसअघि नै बर्खास्त गरिएको छ ।

घटनाप्रति राष्ट्रपति डोनल्ड ट्रम्पले पनि दुःख व्यक्त गर्दै भयानक घटनाको संज्ञा दिएका छन् । उनले फ्लोइडका परिवारसँग कुराकानी पनि गरेको बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू