नेपाल–यूके फाउण्डेशनद्वारा पोखरामा थप तीन लाखको राहत वितरण


लन्डन । चलचित्र पत्रकार संघ नेपाल, कास्की शाखाले पोखरा आसपासका १०० परिवारलाई खाद्यान्न वितरण गरेको छ । ‘पोखरा नेपाल–यूके फाउण्डेशन’को आर्थिक सहयोगमा करिब रु तीन लाखको अत्यावश्यक खाद्यान्न सामग्री वितरण गरिएको संस्थाले जनाएको छ ।
बन्दाबन्दीका कारण दैनिक ज्यालादारी गर्न नपाएका मजदुर एवं विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको शाखाका अध्यक्ष अरुण गिरीले जानकारी दिए । “अत्यधिक समस्यामा परेका समूहको पहिचान गरी हामीले घरघरमै पुगेर खाद्यान्न वितरण गरेका हौँ”, उनले भने, “चिसिएको चुलो बाल्न फाउण्डेशनको आर्थिक सहयोग एवं शाखाको समन्वयमा राहत वितरण गरिएको हो ।”
“बन्दाबन्दीले चलचित्र क्षेत्र पनि निकै प्रभावित भएको छ यद्यपि समस्या सबैतिर उस्तै छ । हामीले मानवीयताका हिसाबले अप्ठ्यारोमा परेका सबै क्षेत्र र वर्गलाई राहत वितरण गरेका हौँ, यो कर्मले हामीलाई समाजसँग अझै नजिकिने मौका दिएको छ”, उनले भने ।

पोखरा नेपाल यूके फाउन्डेसनका अभियन्ताद्वय भीम महेन्द्र गुरुङ र जगत गुरुङ
‘पोखरा नेपाल–युके फाउण्डेशन’ युकेमा कार्यरत नेपालीहरुको संस्था हो । विपद्मा परेका नेपालीलाई सहयोग गर्ने उद्देश्यसहित स्थापित संस्थाले यहाँका करिब २४० नेपालीसँग आर्थिक सहयोग संकलन गरेको थियो । संस्थामार्फत जगत गुरुङ र भीममहेन्द्र गुरुङले आर्थिक संकलनको नेतृत्व गर्दै आएका छन् । “अहिले विश्व नै विपद्मा छ र नेपालमा पनि त्यसको प्रभाव छ । नेपाली समस्यामा पर्दा विदेशिएका हामी नेपालीलाई अझै बढी दुख्छ”, उनीहरुले भने, “त्यसैले हामीले सानै भए पनि सहयोगी हात बढाएका हौँ ।”
यस अघि फाउण्डेशनले जक्शन ग्रुप प्रालि, पोखरा साङ्गीतिक कलाकार सङ्घ र मेरो साथी टिभीमार्फत सहयोग गरिसकेको छ । हालसम्म संस्थाले कूल रु १३ लाख बराबरको सहयोग गरिसकेको छ । उक्त सहयोगबाट ४५० परिवारका करिब दुई हजार १०० ले राहत प्राप्त गरिसकेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५