नेपालमा कोरोना जित्ने १ सय १२, सोमबार मात्रै २५ जना डिस्चार्ज



सोमबार नारायणी अस्पतालबाट ‘डिस्चार्ज’ हुँदै निको भएका संक्रमितहरु
काठमाडौं । नेपालमा कारोना संक्रमणबाट निको भएर थप २५ जना घर फर्किएका छन् ।
सोमबार ‘डिस्चार्ज’ भएका २५ जनासँगै हालसम्म संक्रमण निको भएर घर फर्कनेको संख्या १ सय १२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा विकास देवकोटाका अनुसार नारायणी अस्पताल वीरगञ्जमा उपचार गराइरहेका १८ जना डिस्चार्ज भई घर फर्किएका छन् ।
उनीहरुमा चार महिने शिशुदेखि ६६ वर्षीय पुरुषसम्म छन् । डिस्चार्ज हुनुअघि उनीहरु औसतमा नौ देखि १० दिन अस्पतालमा रहेको बताइएको छ ।
यसैगरी, पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठान, ललितपुरमा उपचार गराइरहेका धनुषा, धादिङ, दाङ, बर्दिया र काठमाडौँका एक/एक जना डिस्चार्ज भएका छन् ।
देशमा कोभिड-१९ बाट हालसम्म संक्रमितको संख्या ६ सय ८२ पुगेको छ । संक्रमितमध्ये पुरुष ६ सय २ जना र महिला ८० जना छन् ।
कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट सोमबार थप एक जनाको मृत्यु भएको पुष्टि भएपछि मृत्यु हुनेको संख्या नेपालमा चार पुगेको छ ।
बारा जिल्ला कलैया नगरपालिका-७ का ती व्यक्तिको कोभिड-१९ को संक्रमणबाट नेशनल मेडिकल कलेज वीरगञ्जमा गत जेठ ४ गते नै निधन भएको हो । यसअघि सिन्धुपाञ्चोक, बाँके र गुल्मीका एक/एक जनाको निधन भएको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५