स्थानीयले जलाउन नदिएपछि कोरोना संक्रमित शिक्षकको शव जंगलमा गाडियो



फाइल तस्विर
रुपन्देही । गुल्मीका कोरोना संक्रमित शिक्षकको शव नेपाली सेनाले जंगलमा गाडीदिएको छ ।
उपचारका क्रममा रुपन्देहीको क्रिमसन अस्पतालमा मृत्यु भएको झण्डै ३१ घण्टापछि मदाने गाउँपालिका ६ पुर्कोट दहका शिक्षकको शव व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
अस्पताल प्रशासन, नेपाली सेना, प्रहरी र स्थानीय जनप्रतिनिधिबीच छलफलपछि शुक्रबार अपरान्ह पौने २ बजे बुटवलदेखि पूर्वतर्फको जंगलमा व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए ।
यसअघि बिहीबारदेखि नै मृतकको शव जलाउने कोशिस गरिएपनि स्थानीयले नदिएका कारण अन्ततः जंगलमा गाडिएको हो ।
शुरुमा बिहीबार नै तिलोत्तमा नगरपालिका वडा नं ३ स्थित मगरघाटमा जलाउने कोशिस गरिएको थियो । तर स्थानीयले असहमति जनाएका कारण पछि तिलोत्तमाकै वडा नं १४ अमुवा पुल नजिक व्यवस्थापन गर्ने तयारी गरिएको थियो । तर त्यहाँ पनि स्थानीयले सहमति दिएनन् ।
शुक्रबार सैनामैनाको सालझण्डीमा रहेको सामुदायिक वनमा शब व्यवस्थापन गर्ने प्रयत्न पनि सफल हुन नसकेपछि स्थानीय प्रशासनले कोरोना विशेष अस्पताल समेत रहेको बुटवल पूर्वतर्फको जंगल क्षेत्रमा लगेर शव गाडेको हो ।
यही जेठ १ गते उपचारका लागि रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पताल भर्ना भएका उनको जेठ ८ गते बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको प्रदेश नं ५ सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५