बेपत्ता नेपालका लागि बेलायती पूर्व राजदूतको खोजी जारी (अपडेट)



झण्डै दुई सातादेखि हराइरहेका नेपालका लागि पूर्व बेलायती राजदूत रिचर्ड मोरिसको खोजीलाई बेलायती प्रहरीले जारी राखेको छ ।
लण्डन । झण्डै दुई सातादेखि हराइरहेका नेपालका लागि बेलायती पूर्व राजदूत रिचर्ड मोरिसको खोजीलाई बेलायती प्रहरीले जारी राखेको छ ।
गत मे ६ तारिखका बिहान बेलायतको ह्याम्पशायर, बेन्टलीस्थित आफ्नो निवास नजिकैको क्षेत्रमा ‘मर्निङ वाक’ मा निस्किएका मोरिस त्यसयता बेपत्ता छन् ।
५२ वर्षीय मोरिस हराएलगत्तै खोजी शुरु गरेको प्रहरीले अहिलेसम्म उनीबारे पत्ता लगाउन सकेको छैन् ।
आइतबार प्रहरीले उनी हराएको दिन उक्त क्षेत्रमा गुडेका गाडीका ‘डयास क्याम’ मा रेकर्ड भएका ‘फुटेज’ उपलब्ध गराइदिन सार्वजनिक अपील गरेको छ ।
पछिल्लोपटक मे ६ का दिन बिहान १० बजेर ५० मिनेटको समयमा मोरिस स्थानीय एल्टन क्षेत्रको ‘इसिंग्टन रोड’ मा देखिएको प्रहरीले बताएको छ ।
उक्त दिन उनी ‘मर्निङ वाक’ का क्रममा हिडेंको हुन सक्ने सम्भावित ‘रोड’ हरुमा बिहान १० देखि ५ बजेको समयमा गुडेका गाडीका चालकहरुलाई फुटेज उपलब्ध गराउन अपील गरिएको हो ।
एल्टनका ‘इसिंग्टन रोड’ र ‘इसिंग्टन लेन’, बेन्टलीका ‘स्टेसन रोड’ र ‘ब्ल्याकनेस्ट रोड’ तथा बिन्सटेडका ‘द स्ट्रिट’ र ‘चर्च स्ट्रिट’ मा गुडेका गाडीका चालकसंग सहयोगको अपील गरिएको हो ।
मोरिसको बारेमा कुनै पनि जानकारी भए प्रहरीलाई १०१ नम्बरमा सम्पर्क गरी रिफरेन्स नम्बर ‘४४२००१६०९८’ उल्लेख गर्न आव्हान गरिएको छ ।
केहि दिनअघि प्रहरीले छरछिमेकका वासिन्दाहरुलाई आआफ्ना घरका बगैंचा, भण्डार गृह, शेड आदि चेक गर्न आग्रह गर्दै कुनै स्थानीय वासिन्दा वा व्यवसायसंग सीसीटिभी फुटेज भए उपलब्ध गराउन पनि आग्रह गरेको थियो ।
मोरिसले नोभेम्बर २०१५ देखि नोभेम्बर २०१९ सम्म नेपालमा ब्रिटिश राजदूतको रुपमा जिम्मेवारी निर्वाह गरेका थिए ।
ब्रिटिश सरकारले उनलाई फिजी गणतन्त्रका लागि आउंदो जुलाइ महिनादेखि कार्यभार सम्हाल्ने गरि उच्चायुक्त तोकेको थियो ।
उनी श्रीमती र तीन बालबच्चाका साथमा बस्दै आएको बताइएको छ ।
प्रहरीले रिचर्डको हुलिया ६ फिट अग्लो, श्वेत वर्ण, फुलेको कपाल र दाह्री पालेको बताएको छ । उनको अनुहारमा जन्मचिन्ह छ ।
उनले लामो बाहुला नीलो जीपर भएको टप, कालो हाफ पाइन्ट र निलो जुत्ता लगाएको प्रहरीले बताएको छ ।

मोरिस हराएको क्षेत्रनजिक जंगलमा खोजी गर्दै प्रहरीको विशेष टोली
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५