सोमबार, पुष ८, २०८१
06:25 | १२:१०

सरकारको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत हुने

रासस मे १४, २०२०

काठमाडौँ । आर्थिक वर्ष २०७७ ७८ का लागि सरकारको नीति तथा कार्यक्रम शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेका संघीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए । शुक्रबार अपराह्न ४.०० बजेका लागि संयुक्त बैठक आह्वान गरिएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत हुनु अगावै ३.४५ बजे सबै सांसदलाई बैठक कक्षमा उपस्थितिका लागि अनुरोध गरिएको छ । सांसदलाई मर्या्दित पोशाकमा उपस्थिति हुन आग्रह गरिएको छ ।

सामाजिक दूरी कायम हुने गरी बैठक कक्षमा बस्ने व्यवस्था मिलाइएको प्रवक्ता पाण्डेले बताए । प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५९ सांसद छन् । बैठक कक्षमा नअटे बालकोनीमा बस्ने व्यवस्था मिलाइएको छ ।

कार्यक्रममा अतिविशिष्ट, विशिष्ट गरी करिब २९ पाहुनालाई आमन्त्रण गरिएको संसद् सचिवालयले जनाएको छ । उपराष्ट्रपति, संवैधानिक निकायका प्रमुख, पूर्वप्रधानमन्त्री, प्रधानसेनापतिलगायत विशिष्ट व्यक्तिलाई आमन्त्रण गरिएको छ ।

कोभिड-१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यसपटक कूटनीतिक नियोग तथा निजी क्षेत्रका प्रतिनिधिलाई कार्यक्रममा सहभागिताका लागि खबर नगरिएको बताइएको छ । संसद् भवन परिसरमा राष्ट्रिय झण्डा फहराइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले संसदमा तेस्रो पटक आफ्नो नीति तथा कार्यक्रम ल्याउन लागेको हो । अघिल्ला दुई वर्षका नीति तथा कार्यक्रममा समावेश भएजस्तै आर्थिक समृद्धिका कार्यक्रम आगामी आवको कार्यक्रममा समेत समेटिने विश्वास लिइएको छ ।

विश्वव्यापी महामारीका रुपमा देखिएको कोभिड-१९ का कारण परेको समस्या सम्बोधन गर्नेतर्फ नीति तथा कार्यक्रम केन्द्रित हुने बताइएको छ । संवैधानिक प्रावधानअनुसार सरकारले यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू