बेलायतद्वारा आफ्ना ३० हजार भन्दा बढि नागरिकको उद्धार
नेपालबाटै फिर्ता ल्याइए ७ सय



बेलायतले तीन वटा ‘चार्टर’ उडानमार्फत नेपालमै अड्किएका आफ्ना ७ सय नागरिक स्वदेश फिर्ता गराएको छ ।
लन्डन । बेलायत सरकारले कोभिड १९ पछि जारी लकडाउनका कारण विदेशमा फंसेका आफ्ना ३० हजार भन्दा बढि नागरिकको उद्धार गरेको छ ।
बेलायत सरकारले १४२ विशेष चार्टर उडानमार्फत नेपालसहित २७ देशमा रोकिएका ब्रिटिश नागरिक यूके फिर्ता ल्याएको हो ।
कोरोना भाइरस संक्रमण रोक्न अधिकांश मुलुकले लकडाउन लागू गरि अन्तर्राष्ट्रिय उडान रोकेपछि हजारौं बेलायती नागरिक विदेशमा अलपत्र परेका थिए ।
ब्रिटिश परराष्ट्र मन्त्रालय (एफसीओ) ले विज्ञप्तिमा जनाए अनुसार, ८ अप्रिलयता भारतबाट ५८ उडानमार्फत १३ हजार ५ सय बढि, पाकिस्तानबाट १९ फ्लाइटमार्फत ४ हजार, दक्षिण अफ्रिकाबाट दुई हजार, न्यूजिल्याण्डबाट एकहजार ५ सय र बंगलादेशबाट १६ सय बेलायतीलाई यूके ल्याएको छ ।
बेलायतले नेपालबाट पनि तीन उडानमा करिब ७ सय ब्रिटिश नागरिकलाई स्वदेश फिर्ता ल्याएको थियो । नेपालको पहाडी क्षेत्रमा अलपत्र परेका ब्रिटिश नागरिकहरुको उद्धार गर्न गोर्खा सैनिकहरुलाई खटाइएको थियो । नेपालको पर्वतारोहण क्षेत्रमा अलपत्र परेका १०९ जना बेलायतीलाई गोर्खाले उद्धार गरेका हुन् । विभिन्न १३ क्षेत्रमा अलपत्र बेलायती पर्यटकलाई प्रशिक्षण दिन नेपाल रहेका ब्रिटिश गोर्खाहरुले उद्धार गरेका थिए ।
ब्रिटिश विदेशमन्त्री राबले भनेका छन्, ‘हामी संसारभरि सबैभन्दा जोखिमपूर्ण स्थितिमा रहेका ब्रिटिश नागरिकहरुलाई सुरक्षित रुपमा स्वदेश फिर्ता ल्याऊन एकदमै केन्द्रित छौं ।’
विदेशमन्त्री राबले गत ३० मार्चमा विश्वभर रहेका आफ्ना नागरिक स्वदेश फिर्ता ल्याउन सरकारले करिब ११ अर्ब रुपैयां (७५ मिलियन पाउण्ड) छुट्याएको घोषणा गरेका थिए ।
पहिलो चार्टर उडान कोरोना भाइरस पहिलोपटक देखिएको चीनको वुहान शहरबाट ३१ जनवरीमा गरिएको थियो । सबैभन्दा पछिल्लो उडान चाहिं भारतको अमृतसर शहरबाट शनिबार बेलायत आइपुगेको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।
नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, फिजी, दक्षिण अफ्रिका, बोलिभिया, बर्मुडा, न्यूजिल्याण्ड, साउदी अरब, कोलम्बिया, अर्जेन्टिना, होण्डुरस आदि देशबाट ति नागरिक ल्याइएको हो ।
कोभिड १९ उत्पत्तिपछि कमर्सियल रुटबाट करिब १३ लाख नागरिक यूके फर्किएको मन्त्रालयको अनुमान छ ।
विदेश मन्त्रालयले आफ्ना नागरिक फिर्ता ल्याउने क्रम निरन्तर रहने जनाएको छ । सरकारले अझै विदेशमै अड्किएका बेलायतीलाई स्वास्थपचार, भिजा थप आदिका लागि आर्थिक सहयोगको ‘प्याकेज’ ल्याइएको पनि उल्लेख गरेको छ ।
यसैबीच, बेलायतमा रहेका सयौं नेपाली पनि स्वदेश फर्कन व्यग्र प्रतिक्षामा छन् । विश्वविद्यालयमा अध्ययन गर्न आएका विद्यार्थी, परीक्षाका लागि आएका चिकित्सक, तालिम तथा भिजिट भिजामा घुम्न आएका नेपालीले उद्धारको अपिल गरिरहेका छन् ।
लन्डनस्थित नेपाली दूतावासले तत्काल नेपाल फर्कन खोजेका करिब सय नेपाली आफ्नो सम्पर्कमा रहेका जनाएको छ । तर, नेपाल सरकार ति नेपालीलाई उद्धार गर्न सक्ने स्थितिमा छैन् । ‘हामीले नेपालमा अन्तर्राष्ट्रिय उडान सुचारु नभइन्जेल धैर्य गर्न भनेका छौं’, दूतावासका उपनियोग प्रमुख शरदराज आरनले भने, ‘हो परिस्थिति जटिल छ । यस्तो अवस्थामा संयमता अपनाएर सरकारलाई सहयोग गर्न हामी अपिल गर्छौं ।’
गैर आवासीय नेपाली संघ बेलायतले पनि कोभिड १९ का कारण बेलायतमा रोकिन वाध्य नेपालीलाई स्वदेश फर्काउने अभियान स्वरुप तथ्यांक संकलन थालिएको जनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५