बुधबार, मंसिर १९, २०८१
07:55
|
१३:४०
लेखिका जया राईभित्रकी अर्की जया
नेपाली लिङ्क
मे ११, २०२०
जया दी
अभिवादन !
शिक्षण पेशा नै त्यस्तै छ, पढेर कहिल्यै नसकिने पढाएर कहिल्यै नसकिने । जया दी, तिम्रो ‘बेकर स्ट्रिटका दुई आंखा’ सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको बीएड दोस्रो सेमेस्टरमा राखेको रहेछ । त्यसको अध्यापनका क्रममा मलाई कथाकारको परिचय, प्रवृत्तिका साथै कथाको विश्लेषण गर्नुपर्ने थियो तर सामग्री कतै भेटिएन । उक्त कथा त्रिभुवन विश्वविद्यालयमा पनि राखिएको रहेछ । त्यसको समीक्षा गरिएको होला भनेर खोजें तर भरपर्दो राम्रो विश्लेषण गर्ने कतै भेटिएन ।
त्यसपछि मलाई स्वयं लेखकसंग सम्पर्क गर्न मन लाग्यो । नचिनेको मानिस कसरी सम्पर्क गर्ने समस्या भयो । मैले फेसबुकमा सर्च गरें जया राई त धेरै रहेछन्, सबैलाई लेखिका तपाईं नै हो कि भन्ने सन्देश पठाएं, कतैबाट उत्तर आएन । तिमी त जयालक्ष्मी राई पो रहिछौ छोट्याएर जया मात्र भएकी । मेरो सम्पर्क भएकै बेला तिमीले बिरामी छु भन्ने कुरा गरयौ । मलाई लाग्यो, झन्झट मानेर भनेकी हौली, तिमीमा अहमता रहेछ भन्ने लाग्यो । तर, मेरो सोचाइ गलत सावित भयो । वास्तवमा तिमी बिरामी नै रहिछौ । त्यो कुरा पछि मलाई तिम्रो व्यवहारबाट अवगत भयो । फेसबुकमा कुराकानी हुंदै जांदा अहिले त टाढै भएपनि चिरपरिचित जस्तै भइसकिछौ, मलाई पत्तै भएन । तिमीले मैले खोजेको भन्दा धेरै धेरै सहयोग गरयौ । तिमीलाई धन्यवाद नदिई धरै छैन् । तिमीले मलाई माया गरेर हो वा साहित्यप्रति अनुराग भएर हो, आफ्ना प्रकाशित तीन वटा कृतिका तीन तीनप्रति मलाई उपलब्ध गराइदियौ ।
पुस्तक पढिरहनुपर्ने पेसा, जीवनमा कति पुस्तक पढियो कति । तिमीले उपहार पठाएका पुस्तक बेकर स्ट्रिटका दुई आंखा, पार्क र पानीका थोपा तथा भर्जिनिया उल्फ र आंसुका थोपा पुस्तकहरू नपढी धरै भएन । ती पुस्तक नपढे तिमीप्रति साहित्यिक अन्याय हुन्छ र आफ्नै आत्माप्रति पनि अन्याय हुन्छ । आफूलाई पढाउन आवश्यक सामग्री मात्र पढेर मनलाई शान्त पार्न सकिएन । पढ्ने मन हुंदाहुंदै पनि उपयुक्त वातावरण मिलेको थिएन । विश्व महामारीका रूपमा फैलिएको कोरोना रोगका कारण विश्व नै बन्दाबन्दीको अवस्थामा परेको बखत मैले यी पुस्तक पढ्ने जमर्को गरें । एकपटक मात्र पढेर धित नमरेकाले दोहोरयाएं, कतिपय शीर्षकलाई तेहेरयाएं पनि । पुस्तक पढेपछि तिनका बारेमा समालोचना, समीक्षा, विश्लेषण केही लेख्नुपरयो भन्ने मनमा लाग्यो अनि लेख्ने विचार गरें । त्यसपछि सोचें, पहिले तिमीलाई एउटा पत्र लेख्नुपरयो । समालोचना, समीक्षा, विश्लेषण जस्ता कुरा यस पेसाका अभिन्न पाटा हुन्, ती लेख्दै गरौंला । उपर्युक्त तीनै पुस्तक पढेपछि तिमी के हौ, कस्ती छ्यौ भनेर जान्न समस्या परेन । लेखिका जया राईभित्रकी अर्की जया पनि कस्ती छ्यौ भनेर सजिलै बुझें । मैले तिमीलाई नदेखे पनि, नभेटे पनि तिमीलाई राम्ररी चिनें । तिम्रो बहुआयामिक व्यक्तित्वबारे छोटो पत्रमा नअटाउला तापनि
संक्षेपमा भए पनि तिमीलाई खोतल्ने प्रयास गरेको छु ।
मैले तिम्रा ती पुस्तक पढेर तिमी कस्ती रहिछौ भन्ने शारीरिक आंकलन गर्न पनि भ्याएं । तिमी सायद हँसिली, दुब्ली पातली, केही होची कदकी, गोरी, चिम्सा चिम्सा आंखा भएकी मङ्गोलियन अनुहारकी रहिछौ । ह्यारो अन द हिल स्टेसनमा यात्राका क्रममा कुरिरहेकी देख्दा वा अन्डरग्राउन्ड रेलको डिब्बामा बसेकी देख्दा कसैले त तिमीलाई चिनिया र कसैले फिलिपिनी पनि भन्दा रहेछन् । तर तिमीले आफूलाई प्रष्ट रूपमा नेपाली हुं भनेर चिनाएर देशको माया गर्न भुलेकी रहिनछौ । तिमी फरासिली भएकाले यात्रामा जांदा कसैलाई पनि अपनत्वको भाव पैदा गराइछाड्ने
रहिछौ । तिमी बुद्धिकी असल जीवनसाथी र प्रताप एवं निराकी वात्सल्यमयी ममताकी खानी नै रहिछ्यौ । अभिभावकीय दायित्व पूरा गर्न कोरियाको अप्रत्यासित यात्रा गर्छौ । बालबालिकासित खेल्न तिमीलाई औधी मन पर्ने भएकाले फुच्चे साइमनसंग न्यूजिल्यान्ड पुग्छ्यौ । प्रकृतिसित लुकामारी खेल्न हुरुक्क हुने भएकाले च्याउ टिप्ने निम्ता स्वीकार गरी क्यूगार्डेनमा रमेको मन लिएर क्यानल, क्यानबिस र कन्यासंग मायाप्रीति गांस्छ्यौ ।
साहित्य भन्ने कुरा त तिम्रा नसा नसामा रहेछ, त्यसमा पनि डायस्पोरिक साहित्यलाई मलजल गर्न कहिले रम्घाका भानु रम्फोर्डमा हेर्न पुग्छयौ, कहिले सेक्सपियरको घरमा पाहुना लाग्न जान्छ्यौ त भर्जिनिया उल्फ र आंसुका थोपा खसालेर मन हलुङ्गो पाछ्र्यौ, कहिले त विश्वबैंकमा नै पुगेर सुकीधुकीलाई अंगालो हालेर मायाप्रीति गांस्छ्यौ । तिमी प्रवासमा नै बसेर आफ्नो देशको परम्परा, संस्कृति, प्रकृति र समसामयिक विषयवस्तुबारे चासो राख्न पर्यटक चराको लर्को हेर्दै वेष्ट मिनिस्टर वरिपरिको रात्रीभोज खान पुग्छ्यौ । तिमीलाई घुमेर थकाइ लाग्दो रहेनछ, फूर्सद मिल्यो सुटुक्क गई कहिले हिथ्रो एअरपोर्टमा प्रतीक्षा गरिरहेकी हुन्छ्यौ, कहिले ओमानमा यात्रुको हुर्मत लिएको हेर्न पुग्छ्यौ, कहिले रातो कारले सातो लिंदा झस्किन्छ्यौ र यात्रा रहेछ जिन्दगी भनेर चित्त बुझाउंछ्यौ । मैले तिम्रो भर्जिनिया उल्फ र आंसुका थोपा पढेर तिमीलाई यस्तै यस्तै पाएं । बेलायतको व्यस्त सहरमा बसेर घरपरिवारको हेरचाह, नोकरीको व्यस्तता र कच्चा शरीरमा हुने विविध रोगव्याधिसित मुकाबिला गर्दै डायस्पोरिक साहित्यलाई मरिमेटी अघि बढाउन प्रयत्न गर्नु, अग्रज साहित्यकारप्रति हार्दिकता जनाउनु र अनेसासको उन्नति र प्रगतिको कामना गरिरहनु तिम्रो महत्वपूर्ण पाटो रहेछ भन्ने लाग्यो । यसरी अहोरात्र साहित्यप्रति जागरुक भएको देख्ता तिमीप्रति नतमस्तक हुन मन लागेको छ जया दी ।
तिमीलाई बेकर स्ट्रिटका दुई आंखाले हेर्दैछु । ती मायालु आंखाले तिमीलाई हेर्दा म पटक्कै थाकेको छैन, जति हेरे पनि हेरूं हेरूं लाग्छ । सुरुमा बेलायती भूमिमा गरेका संघर्षले आफ्नो पीडा अघि सार्दै नारीसुलभ सौन्दर्यको अहमता तिमीमा पनि देखिएको छ । पछि अतृप्त कामवासना मौलाएको छ । साथी धेरै भेटिन्छन्, रूप र सौन्दर्य भए पनि मन जित्न सक्ने मानिस पाउन मुस्किल हुंदो रहेछ,
राधिया जस्तो मन र मुटु भएको साथी गुमाउंदा तिमीलाई हुनसम्म पछुत्तो भएको छ । तिमी डायस्पोरालाई औधी राम्रोसंग खोतल्ने भएकाले ती पीडाहरू यसमा पहाडको झरनाझैं सलल बगेका छन् । पुरुषको यौनवादी दृष्टिकोणलाई रूपमा आएर दबेको स्वरमा विरोध गर्न भ्याइछौ । विदेशमा रहेकी एक्ली चेलीलाई सहयोग गर्नुभन्दा कामवासनायुक्त दृष्टिले हेरेकोमा सराप्नसम्म सरापिछौ । नेपाली संस्कृति र विदेशी संस्कृतिको दोधारे डायस्पोरिक मान्यतालाई पोख्न पनि सफल भएकी छ्यौ । चेरीका फूल र बोट तिमीलाई सारै मन पर्दा रहेछन् भन्ने कुरा प्लेनकी केटी र टेक्लाबाट बुझ्ने अवसर पाएं ।
विदेशी भूमिमा जति कमाएर रमाए पनि स्वदेशप्रति रहने माया ममताको कुरा तिमीलाई पनि टेक्लाले राम्ररी मुटु छुने गरी सिकाएकी रहिछन् । तिम्रो फरासिलो बानीले टेक्लालाई पनि आफ्ननै बनाइछाडिछौ । धर्मप्रति गरिने भेदभाव र घरायसी कामदारले भोग्नुपर्ने पीडा सजिलै व्यक्त गरेकी छ्यौ । श्रीलङ्कामा उत्रिंदा तिमी टेक्ला बनेर मानवीयता देखाइछौ । तिम्रो मानवता अजरअमर बनेको छ । क्रिसमस डेमा तिमी श्रीमान् मेन्सासंग मजाले क्रिसमस मनाइछौ, सायद त्यस बेला तिमी कुनै पाश्चात्य संस्कारमा हुर्किएकी कामुक युवतीका रूपमा आफूलाई उभ्याएकी छ्यौ । अविकसित र अल्पविकिसित मुलुकका प्रवासीको बेलायतमा भोगेको पीडालाई वाइनको मातमा भुल्ने प्रयत्न गरेकी छ्यौ । तिमी सायद रिनाजस्ती पक्कै वा बिलकुलै छैनौ तर रिनाको दिनचर्या र रोमान्सले तिमीभित्रकी अवचेतन वा अचेतन अवस्थाकी जया अवश्य बाहिर आएकी छे । तिमी प्रायः जसो ग्रिनपार्क, हाइडपार्क, थेम्स नदीको किनार, बाटरलु, बेकर स्ट्रिट अन्डरग्राउन्डमा नै देखिन्छ्यौ । खास गरेर घातमा सोफी भएर तिमी देखिएकी छ्यौ । त्यो सोफी सारै ऐ$यासी छे । उसलाई मनोरञ्जन गर्नु, नयां नयां केटा साथी बनाएर रमाउन मन छ । ऊ नेपालीपनकी प्रतिनिधि होइन त्यहींको रङ्गमञ्च र रासलीलामा रमेकी छे । बेहोसी, वास्तविक प्रेम र मानवीय सोच नभएकी कामातुर युवती हो । त्यसले बेलायती संस्कार अंगालेर बसेकी छे । दर्सिनढुङ्गा र चकमकमा तिमी कर्मवादी कामदार भएर देखिएकी छ्यौ । तल्लो स्तरका कर्मचारीले भोग्नुपर्ने अस्पतालको पीडा यसमा अभिव्यक्त गरेकी छ्यौ । त्यो पीडा तिम्रो वास्तविक जीवनको नै हो जस्तो लाग्छ ।
दांतको अस्पतालमा सुनिने सदाबहार शब्दावली, बिरामीले गर्ने व्यवहार, डाक्टरको मुड सबै कुरा गरेर मलाई अस्पतालको सजीव वातावरणमा पुरयाएकी छ्यौ, सायद त्यो तिम्रो दैनन्दिनी हुन सक्छ जया दी । डांडाको जूनमा तिमी असल सेविकाका रूपमा देखिएकी छ्यौ । वृद्धवृद्धाको मनका कुरा खोतलेर मनोविश्लेषण गरेकी छ्यौ । असल मानवीय भावनाको उजागर गर्न सफल भएकी छ्यौ । तिमीले डानियलमा पेङ्गुइनको माध्यमबाट जातिभेद, रङ्गभेद र वर्गभेदका कारण बेलायतमा, नेपालमा मात्र होइन विश्वको भूगोलमा नै भएको पीडालाई सजीव रूपमा उतारेकी छ्यौ । फेसाङ र लुलुले तिमीलाई धेरै कुरा सिकाएका छन् । डानियल बिचरालाई रङ्गभेदको सिकार बनाएर आफू हांसेकी छ्यौ, दन्तलहर देखाएर अन्तर्मनको पीडा लुकाएकी छ्यौ, व्यथा दबाएकी छ्यौ ।
तिमी अस्पतालमै काम गर्छौ क्या रे त्यसैले अस्पतालमै घटेका घटनालाई लिएर बाइ इमिलीमा बालमनोविश्लेषण गर्न पुगेकी छ्यौ । अपरिचित बालबालिकालाई पनि छिटै साथी बनाइहाल्ने तिम्रो बानी मलाई असाध्यै मन परेको छ । बालकका मनका पत्र पत्र केलाउन सक्ने तिम्रो खुबी देखेर तिमीलाई वात्सल्यमयी ममताकी खानीको दर्जा दिन मन लागेको छ । वर्तमान सन्दर्भका
विसंगतिलाई प्रयोगवादी शैलीको आजलाई चिर्ने कामको जिम्मा लगाएकी रहिछौ । वर्तमान यान्त्रिकीकरण भइसकेको जीवनका बिब्ल्यांटा यसमा झल्काएकी रहिछ्यौ । मानवीय स्वार्थीपना, विश्वमा भएको आर्थिक मन्दी, सामाजिक सञ्जाल भर पर्नुपर्ने वर्तमान अवस्थालाई विसंगतिवादी दृष्टिकोणबाट प्रयोगवादी, तात्क्षणिक स्वैरप्रवाह शैलीले तिमीलाई ‘आज’मा लठ्याएछ । तिमी ममताकी खानी नै हौ भन्ने कुरा अरूमा जस्तै स्टाफ रुममा झन् छताछुल्ल भएको छ । यसमा त पुरुष हैकमवादको पनि अप्रत्यक्ष रूपमा विरोध गर्न भ्याइछौ र पुरुषको परगमनको पनि छुस्स चर्चा गरिहालिछौ । साथै जन्म र मृत्यु ईश्वरीय खेल हो भन्ने पूर्वीय दर्शन खोतल्नुका साथै एकाकी जीवनका असजिला पाटा र बेलायती जीवनशैलीलाई पनि सजिलै कोट्याइछौ ।
तिमीले अपोलो पबनिर क्रिस्टिनासंग हुने भेटले मानव जीवनको उतारचढाब, साहित्यप्रतिको अनुराग र डायस्पोरा जीवनशैलीको व्याख्या र जीवन एक रङ्गमञ्च हो भन्ने कुरा प्रस्ट्याएको छ, जया दी । तिमीले टेक्लासंगको अर्को भेट ‘काम’मा गरेकी रहिछौ । डायस्पोरा जीवनको व्यस्तता, जीवन धान्नका लागि गरिने सङ्घर्ष र उक्त सङ्घर्षबिच पनि केही समय रमाउने तिम्रो जीवनशैलीले मनै छोयो । विदेशमा गएर पनि टोप्रा जस्ता ठेट शब्द पनि नभुलेकोमा आनन्द आउने नै भयो मलाई, डायस्पोरामा त्यति अङ्ग्रजी शब्द स्वतः प्रयोग हुने गर्छन् त्यसले अझ डायस्पोरालाई जीवन्त पार्ने काम गरेकी छ्यौ । जीवनका साना साना खुशीलाई पनि सदुपयोग गर्न सकेमा जीवन सार्थक हुन्छ भन्ने अर्ती दिएकी रहिछौ जया दी तिमीले ।
पार्क र पानीका थोपा पुस्तकमा दैनिकी ढांचामा निबन्ध लेख्न भ्याइछौ । पार्क र पानीका थोपामा तिमीले बिदाको दिनको दिनचर्या उल्लेख गरेकी रहिछौ । वर्तमान यान्त्रिक र प्रविधिसम्पन्न युगमा फोन, इमेल र इन्टरनेटले बिदाको सदुपयोग गर्ने रहिछौ । साहित्यका साथै सङ्गीतमा पनि रुचि रहेछ भन्ने कुरा तिमीबाट सजिलै बुझ्न सकियो । पियाकी मोली हेरेर तिमी लठ्ठ पर्नु तिम्रो स्वभाव नै हो किनभने तिमी बालबालिकालाई असाध्यै माया गर्ने संसारकी आमामध्ये बिरलै पाइने एक आमा हौ । डेन्टल हस्पिटलको उराठलाग्दो दैनिकीलाई पनि तिमीले रसिलो बनाएकी छ्यौ भावुक बनेर । तिमी आफ्नो कामप्रति कति दत्तचित्त छ्यौ भन्ने कुरा दांत जँचाउन आएका केटाकेटीको नाम र कार्यको विवरण दिएबाट प्रष्ट हुन्छ । जटिल कामलाई पनि सहज बनाएर अघि बढ्न सके जीवन रमाइलोसंग बिताउन सकिन्छ भन्ने कुरा तिमीबाट नै सिक्नुपर्छ जया दी । पाहुनासंग घम्साघम्सी हुंदा तिमी सारै डराइछौ । विदेशबाट आएर घरभाडा तिर्ने पैसा नहुंदा कसरी जीवनयापन गर्नुपर्ने रहेछ भन्ने तिमीलाई राम्ररी थाहा भएको रहेछ । रोज्जा प्रतिक्रियामा सान्ड्राको हंसिलो र ठट्यौलो पारामा तिमी रमाएकी छ्यौ । अस्पतालमा आउने कतिपय बिरामीको मनोविज्ञान खोतल्ने काममा तिमी खप्पिस भइसकिछौ जया दी । ओडरी वुडप्रतिको तिम्रो सम्मान अतुलनीय छ । अन्नपानीको शरीर बाल, युवा, वयस्क, वृद्ध हुंदै अन्तमा पञ्चतत्वमा विलीन हुन्छ । जीवनका रहरहरू सम्झंदै वृद्धावस्था बिताउनुपर्ने वाध्यता हामी सबैलाई हुन्छ ।
मानिस आफ्नो स्वभावले मित्र र शत्रु कमाउने गर्छ । सद्व्यवहारमा सबैलाई समेट्न सकिन्छ भन्ने सन्देश दिन खोजेकी हौ क्या रे । एडम्स पिकका खुइयाहरू लिएर तिम्रो मुलाकात फेरि टेक्लासित भएको छ । तिमीभित्र रहेको मित्रताको अटुट सम्बन्ध र स्वदेशप्रेम छताछुल्ल पोखिएको छ । जीवनका आरोह अवरोहका साथै दैनन्दिनी, साहित्यप्रति चासो, बेपर्बाही जिम्मेबारीप्रति कटाक्ष गरेर खै त हिउं यो पालि भन्दै प्रकृतिमा भएको परिवर्तनप्रति चासो राखेकी रहिछौ । तिमीले डायस्पोराका सिद्धहस्त व्यक्तित्व ईश्वर दाइ रहनुभएन भनेर कवितामा श्रद्धाञ्जली दिएर ईश्वर मानन्धर गरेको श्रद्धाले मेरो पनि आंखा रसाएको छ । जया दी तिमी डायस्पोरा नेपालीप्रति सारै माया गर्दि रहिछौ । तिम्रो एउटा बानी मन परेको छ मलाई । तितो कुरा पनि सजिलै भन्दिरहिछौ, हुन त त्यो निडरपन रगतमै छ नि, किनभने भने तिमी लाहुरे राईकी छोरी हौ जया दी ।
धेरै सुनेका तर नभेटेका गणेश रसिकलाई सम्मान दिन भुलिनछौ । उनका कालजयी गीत उद्धृत गरेर जन्मनु दुःख हो भन्ने बौद्ध दर्शनको मूल भावलाई रसिकसंग दाँजिछ्यौ । सुकन्या र समयमा तिमीले सुकन्यालगायत धेरै व्यक्तिसित सम्पर्क गरेर आफ्नो साहित्यिक यात्राबारे चर्चा र अरूप्रति खास गरेर पारिजातकी बहिनी सुकन्यालाई सम्मान गरेकी छ्यौ । दसैं नेपालीहरूको धार्मिक पर्व मात्र नभएर सामाजिक पर्व बनेको कुरा तिमीजस्ता विदेशमा बस्नेलाई मात्र थाहा हुन्छ भन्ने कुरा सजिलै व्यक्त गरेकी रहिछौ । नेपालमा सीमित भोटनीति र राजनीति सफल पार्न चुच्चे थेप्चे, धोती टोपी जस्ता विभिन्न विभाजनका आधार कोरेर सीमित स्वार्थपूर्ति गर्ने कुरा डायस्पोरामा नघुसेको कुरा तिमीबाट बुझियो । त्यहां त जहांको जोसुकै भए पनि साख्खै लाग्ने रहेछ । तिमीले इन्टरनेटबाट भए पनि दसैं मनाइछौ खुसी लाग्यो, जया दी । सायद तिम्रो सबैभन्दा मन खिच्ने साथी टेक्ला नै भएर हो कि फेरि इकेडला एभेन्यु नम्बर सिक्स्टी टु मा पनि सम्झन पुगिछौ । मान्छे कर्म गर्न जहां गए पनि अन्तमा आफ्नै जन्मथलोमा रमाउन चाहन्छन् भन्ने विचार तिमीले सुनाउन पुगिछौ । धेरै माया गरेर हो कि टेक्लालाई धेरै शब्द खर्चिने तिम्रो बानी परेको रहेछ । मानवता जात, सीमा, धर्म, क्षेत्र, उमेरभन्दा माथिको व्यवहार प्रदर्शित गर्दो रहेछ । टेक्लाप्रति रहेको तिम्रो मातृभावनाले मानिस आफ्नै स्वभाव र व्यवहारले शत्रु र मित्र कमाउंछ भन्ने मान्यता चरितार्थ गरेकी छ्यौ जया दी । बेलायतमा रहेको तिम्रो दैनन्दिनी हाँसोका पर्राहरूमा फरफराएर पर्रा नै छुटेका छन् ।
विदेशमा भाषाको अज्ञानताका कारण पाइने सास्तीबारे सजिलो भाषामा व्यक्त गरेर डायस्पोरिक जीवनको पीडा अघि सार्न तिमी सफल भएकी छ्यौ । तिमी हेरो बस पार्कमा बस समयमा नआएर ब्रेकफास्ट टाइम बितेकोमा खिन्न देखिन्छ्यौ । डायस्पोरा जीवनका कहालीलाग्दा घटना र आफ्नो दैनिकीको चटारो वर्णनमा नै केन्द्रित भएकी छ्यौ । विभिन्न देशबाट काम र पढाइको सन्दर्भमा बेलायत आउने मानिसको अघोषित चिनजानमै तिम्रो दैनिकी व्यस्तताका साथ अघि बढेको छ । स्वाइन फ्लुको त्रास, हङकङको गन्जागोलबाट बिरक्तिएर बेलायत पसेकी तिम्रो यतिसंग जम्काभेट हुंदा डम्बरी जन्मेकी रहिछ । डायस्पोरिक जीवनको कथाव्यथामा रमाउने, सङ्घर्षबाट पछि नहट्ने र जीवन नै सङ्घर्ष हो भन्ने मान्यता बोकेकी तिमी सङ्घर्षकी प्रतिमूर्तिका रूपमा दरिएकी छ्यौ जया दी । यस्तो भयो सम्मेलनमा अनेसासको अधिवेशनको चर्चा गरिछौ । त्यसमा देखिएका मपाईंत्वको पनि पर्दाफास गर्न डराइनौ । विदेशमा रहेर पनि डायस्पोरामार्फत नेपाली साहित्यलाई मलजल गर्न सङ्गठित रूपमा अघि बढेको चर्चा गरेकी रहिछौ जया दी । नयां वर्षको सुरुमा जेठीको हेरचाह गर्दै अर्की जेठी जन्माउने तरखरमा रहिछौ । अर्की जेठीको गर्भाधान भए पनि जन्मने कहिले हो, छिट्टै नजन्मे पनि केही ढिलै होस् छोरै होस् भन्थे पहिलेकाले । घरायसी कामकाजका साथै विश्वमा भइरहेका विकृति र विसङ्गति चिर्न पनि भ्याइछौ जया दी तिमीले । पार्क र पानीका थोपाको अन्तमा हराएको चाबी खोजीमा लागेकी रहिछ्यौ । मानवीय सानो त्रुटिले धेरै दुःख पाइन्छ । बेलैमा सचेत हुनुपर्छ । समयमा सचेत नहुंदा महत्वपूर्ण कुरा पनि पछि काम नलाग्न सक्छ भनेर चाबीले तिमीलाई बेसरी घोचेछ जया दी ।
लेख्ने मन धेरै थियो, तर तिम्रो बेफुर्सदिलो जीवनमा त्यति धेरै पढ्न नसकौली भनेर कम गर्ने प्रयास गरेको छु जया दी । एक पटक तिमीलाई भेटेर हयारो अन द हिल स्टेसनबाट अन्डर ग्राउन्ड रेलमा चढेर यात्रा गर्न मन छ । माथि तिमीले घुमेका बेलायतका सबै ठाउंमा घुमाइदेऊ न जया दी ! भन्ने विचार छ । तर म जस्तो मोफसलमा बस्ने एउटा क्याम्पसको शिक्षकलाई छोराछोरीलाई हेरचार गर्दा, पढाइलेखाइ गर्दा घरबार जोड्दा ऋण काढेर काम चलाउनेलाई बेलायत गएर बिपनामा घुम्नु त सम्भव छैन तर सपनामा आएछु भने तिमीले नियात्रामा घुमेका सबै ठाउं घुमाइदिनु अल्छी नमानी । अन्तमा तिम्रो डायस्पोरिक साहित्यमा अघि बढेको कलम हिमालका झरनाझैं सुन्दरतम तालमा अघि बढिरहोस् । तिम्री साथी टेक्लाजस्तै आफ्नै मातृभूमिमा फर्केर साहित्यलाई अमर गर्ने काम होस् । तिम्रा कृतिहरू सदाबहार बनून्, फलून्, फूलून्, यही शुभभाव र शुभकामनाका साथ यस पत्रलाई यही विराम दिन्छु । हुन्छ त जया दी । जय डायस्पोरा ।
उही अनुरागी,
डा. धनकृष्ण उपाध्याय
टीकापुर, कैलाली
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५