आइतबार, पुष ७, २०८१
06:11
|
११:५६
बेलायतमा श्रमिकहरूमा भाइरस संक्रमणको बढी जोखिम
एएफपी/रासस
मे ११, २०२०
लन्डन । बेलायतका विभिन्न स्थानमा प्राविधिक रूपमा दक्ष कामदारको तुलनामा निम्न कौशल कामहरूमा खट्ने श्रमिकमा कोरोना भाइरसको बढी जोखिम रहेको बेलायतको राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस) ले सोमबार बताएको छ । तथ्यांकमा श्वेत नागरिकको तुलनामा अश्वेत नागरिकको कोरोना भाइरसका कारण बढी मृत्यु भएको देखिएको छ ।
प्रधानमन्त्री बोरिस जोनसनले आइतबार निर्माण र उत्पादनका क्षेत्रका कामदार काममा फर्केर आउन सक्ने तर कार्यालयका कर्मचारीले घरबाटै काम गर्न आइतबार गरेको आग्रहपछि राष्ट्रिय तथ्यांक कार्यालयले उक्त तथ्यांकलाई महत्वसाथ सार्वजनिक गरेको हो । निर्माण र उत्पादनका क्षेत्रका कामदार काममा फर्किन सरकारले गरेको आह्वान भाइरसको फैलावट रोक्न सरकारले सात हप्ता लामो राष्ट्रव्यापी बन्दाबन्दीपछि लिएको पहिलो कदम हो ।
सरकारले आवश्यकता र सङ्क्रमणको अवस्थालाई विचार गर्दै चरणबद्ध रूपमा अन्य कार्यक्रमहरू पेश गर्ने विश्वास गरिएको छ । प्रधानमन्त्री जोनसनले सोमबार संसदलाई सम्बोधन गर्दा थप क्षेत्रलाई काममा फर्कनेगरी सार्वजनिक आह्वान गर्ने अपेक्षा गरिएको छ । विपक्षी दल र युनियनहरूले काममा फर्केका जनताको सुरक्षाबारे चिन्ता व्यक्त गरेका र नयाँ सिफारिसहरूको बारेमा स्पष्टताको अभाव रहेको बताएका छन् ।
स्कटल्याण्ड र वेल्सका क्षेत्रीय सरकारहरूले प्रधानमन्त्रीको घोषणा विपरित उनीहरूले उच्च संक्रमण जोखिमको कारण बन्दाबन्दीलाई कायम राख्ने कुरा जनाएका छन् । ओएनएसले अप्रिल २० सम्म इंग्ल्याण्ड र वेल्समा भएका झण्डै दुई हजार ५०० मृत्यको समिक्षा गरेको र यसमा सबैभन्दा कम कुशल व्यवसायमा काम गर्ने पुरुषहरूको मृत्यु दर सबैभन्दा बढी रहेको बताएको छ । मुल्यांकनले ट्याक्सी, बस र अन्य सार्वजनिक यातायातका चालकहरू, कुकहरू र खुद्रा सामान र व्यापारिक केन्द्रमा काम गर्ने व्यक्तिको तुलनामा अन्य पेशामा रहेका व्यक्तिहरूको मृत्यु संख्या रहेको देखाएको छ ।
सामाजिक सेवा वा व्यक्तिगत हेरचाहमा काम गरिरहेका पुरुष र महिलाहरू दुबैमा भाइरसको सङ्क्रमण र मृत्युको दर उल्लेख्य बढी रहेको तथ्याङ्कले देखाएको छ । अध्ययनमा स्वास्थ्य क्षेत्रमा काम गर्ने चिकित्सक वा नर्सहरूको मृत्यु दर निकै कम रहेको बताइएको छ । यद्यपि ओएनएसले कुनै पनि निश्चित निष्कर्ष निकाल्न अध्ययन एकदम सानो र साँघुरो रहेको भन्दै यो अध्ययनले सम्पूर्ण देशको स्थितिको मुल्यांकन गर्छ भन्ने निश्कर्ष गलत हुने बताएको छ । ‘यो विश्लेषण कोभिड-१९ को समावेशी मृत्यु दर हो भन्ने छैन । व्यावसायिक जोखिम वा विभिन्नताको कारण तथ्यांक फरक आउनसक्छ । हामीले उमेरका लागि समायोजन गरेका छौं तर जातीय समूह तथा निवास स्थानजस्ता अन्य कारकहरूको लागि अध्ययन गरेका छैनौँ ।’
बेलायत महामारीको कारण विश्वमा सबैभन्दा बढी प्रभावित देशहरू मध्ये एक हो । सोमबारसम्म सरकारले आधिकारिक रूपमा सङ्क्रमण पुष्टि भएकामध्ये झण्डै ३२ हजार व्यक्तिको मृत्यु भएको जनाएको छ । भाइरसबाट हुने मृत्युको वास्तविक संख्या ‘ओएनएस’ को दुई साता अघिको साप्ताहिक अपडेटको तुलनामा निकै धेरै हो । धेरै अध्ययनले जातीयता जस्ता मापदण्डमा आधारित बेलायतमा कोभिड-१९ को प्रभावमा महत्वपूर्ण असमानता फेला पारेको बताएका छन् ।
गत हप्ता सार्वजनिक रिपोर्टमा ‘ओएनएस’ले इंग्ल्याण्ड र वेल्सका श्वेत मानिसहरूभन्दा अश्वेत पुरुष र महिलाहरूको कोभिड-१९ का चार गुणा बढी मृत्यु भएको बताइएको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ