बिहीबार, कार्तिक १५, २०८१
06:42
|
१२:२७
सार्कमा कोरोना संक्रमितको संख्या एक लाख सात हजार
रासस-एएनआई
मे ९, २०२०
नयाँ दिल्ली, २७ वैशाख–दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकहरुमा कोरोनाभाइरसबाट एक लाखभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । दक्षिण एसियाका यी आठ देशमा हालसम्म कोरोना संक्रमित संख्या एक लाख सात हजार ४८४ पुगेको छ भने दुई हजार ९४९ जनाको मृत्यु भएको छ ।
दक्षिण एशियाली मुलुकमध्ये भारतमा सबैभन्दा बढी संक्रमित छन् । शनिबारसम्म भारतमा ५९ हजार ८८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने एक हजार ९९० जनाको मृत्यु भइसकेको छ । भारतमा १७ हजार ९५६ संक्रमित व्यक्ति उपचारपछि निको भई घर फर्किएका छन् ।
त्यस्तै, पाकिस्तानमा २७ हजार ४७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६१८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । पाकिस्तानमा सात हजार ७५६ व्यक्ति उपचारपछि निको भई घर फर्किएका छन् । अर्को बढी प्रभावित एशियाली मुलुक बङ्गलादेशमा शनिबारसम्म कोरोना भाइरसबाट १३ हजार ७७० जना संक्रमित बनेका छन् भने २१४ जनाको मृत्यु भएको छ । बङ्गलादेशमा दुई हजार ४१४ जना उपचारपछि निको भई घर फर्किएका छन् ।
लामो समयदेखि द्वन्द्वको कारण प्रभावित अफगानिस्तानमा चार हजार ३३ जना यस भाइरसकाकारण संक्रमित भेटिएको छ भने यहाँ ११५ जनाको विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड-१९ का कारण मृत्यु भएको छ । अफगानिस्तानमा संक्रमितमध्ये ५०२ जना निको भई घर फर्किएका छन् ।
यस्तै श्रीलंकामा ८४४ जना संक्रमित छन् भने ९ जनाको मृत्यु भएको छ । माल्दिभ्समा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेहरुको सङ्ख्या ७६६ पुगेको छ भने तीन जनाको मृत्यु भएको छ । यहाँ २६० संक्रमित निको भई घर फर्किएका छन् ।
यसैगरी नेपालमा हालसम्म १०९ जना र भुटानमा ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यहाँ कोभिड-१९ का कारण अहिलेसम्म मृत्यु भएको छैन । कोरोना भाइरसको विश्वव्यापी महामारीबाट हालसम्म ४० लाख ४४ हजार ८० भन्दा बढी मानिसहरु संक्रमित बनेका छन् भने दुई लाख ७७ हजारभन्दा बढीले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ