तेह्रथुममा युवकद्वारा बाबुआमाको हत्या
तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका-५ इसिबुका एक युवाले बाबुआमाको हत्या गरेका छन् । इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बाबुआमाको हत्या गरेका हुन् ।
सामान्य घरायसी विवादमा ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र ३५ वर्षीया सौतेनी आमा इशा खापुङ लिम्बूलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन् ।
कञ्चनले आफूले बाबुआमाको हत्या गरेको भनि १०० नं मा फोन गरेपछि प्रहरी घटनास्थल पुगेको थियो । घटनास्थल प्रहरी चौकीदेखि चार किलोमिटर दूरीमा पर्छ ।
कञ्चनले १०० नं मा फोन गरेसंगै प्रहरीले उनको पिछा गरिरहेको र भाग्दै गरेको अवस्थामा पोक्लाबाङ प्रहरी चौकीको टोलीले निन्त्रणयमा लिएको प्रहरी निरीक्षक तेजबहादुर दाहालले जानकारी दिए ।
घटनास्थलमा सम्दु प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमल तोलाङको टोलीले सुरक्षा दिइरहेको प्रहरी निरीक्षक दाहालले बताए ।
घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको टोली शुक्रबार त्यसतर्फ गएर मृतकको शव परीक्षण गर्न अस्पताल लगिंदै गरेको प्रहरीले जनाएको छ ।
मृतकका सात महिनाकी छोरी छिन् । नाबालक छोरी मृतकका दाजु देवबहादुर फोम्वोसँग रहेका वडाध्यक्ष टेकबहादुर घिसिङले बताए ।