बिहीबार, कार्तिक १५, २०८१
06:42 | १२:२७

इराकमा पूर्व गुप्तचर प्रमुख बने नयाँ प्रधानमन्त्री

रासस-एएनआई मे ७, २०२०

बग्दाद । इराकका पूर्व गुप्तचर प्रमुख मुस्तफा खादिमी नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।

अमेरिका पक्षीय मानिने खादिमीलाई इराकको संसदले बिहीबार प्रधानमन्त्रीमा निर्वाचित गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।

अमेरिकाको न्युयोर्क टाईम्सले पनि खादिमीको सम्वन्ध अमेरिकासँग धेरै राम्रो रहेको र उनी क्षमतावान व्यक्ति भएको जनाएको छ ।

तत्कालिन प्रधानमन्त्री अदेल अब्दुल मेहदीले राजिनामा दिएको लामो समयपछि उनी प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

इराकमा लामो समयदेखि कामचलाउ प्रधानमन्त्रीको भरमा सरकार सञ्चालन भइरहेको थियो भने सरकार विरोधी प्रदर्शनहरु पनि भइरहेका थिए ।

प्रदर्शनकारीहरुले रोजगारी र सुशासनको माग गरेका थिए । उनीहरुले भ्रष्टाचार अन्त्य गर्न र सरकारका काम कारबाही राम्रो बनाउन आग्रह गर्दै आएका थिए ।

प्रधानमन्त्रीमा निर्वाचित भएपछि खादिमीले इराकको सुरक्षा, समृद्धि र उत्थानका लागि संसदले आफूलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटर मार्फत उनले सबैभन्दा पहिलो प्राथमिकता कोरोनाभाइरसविरुद्धको लडाईँ हुने पनि उल्लेख गरे ।

इराकमा कोरोनाभाइरस संक्रमितको संख्या दुई हजार ४ सय ८० पुगेको छ भने १०२ व्यक्तिको विश्वव्यापी प्रकोपका रूपमा फैलिएको यस भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू