बेलायतमा ६३ लाख कामदारलाई तलब खुवाउँदै सरकार
पहिलो महिनामै ८ विलियन पाउण्ड खर्च



अर्थमन्त्री ऋषि सुनाक
लण्डन । कोरोना महामारीको कारण काममा जान असमर्थ बेलायतका कामदारहरुको लागि सरकारले ल्याएको ‘फर्लो स्किम’ को राहत दशौं लाखले लिएका छन् ।
बेलायतमा विभिन्न काम गरिरहेका कुल कामदारहरुको करिब एक चौंथाईले अहिले यो स्किममार्फत सरकारबाट आफ्नो तलबको ८० प्रतिशत रकम प्राप्त गरिरहेका छन् ।
अप्रिल २० मा फर्लो स्किमका लागि आवेदन खुला गरिएपछिको दुई सातामा विभिन्न ८ लाख रोजगारदाता कम्पनीले आफ्ना ६३ लाख कामदारहरुको लागि यो राहतका लागि आवेदन गरेको ‘एचएमआरसी’ ले जनाएको छ ।
जसअनुसार यो स्किमअन्तर्गत पहिलो महिनामै सरकारको ढुकुटीबाट ८ विलियन पाउण्ड खर्च हुने भएको छ ।
सरकारी तथ्यांकका अनुसार महामारी शुरु हुनुअघि बेलायतमा रोजगारीको तह अहिलेसम्मकै बढी ७६ दशमलव ४ प्रतिशत थियो । विभिन्न रोजगारीमा रहेका २ करोड ७९ लाख मानिसहरुमध्ये २३ प्रतिशत अहिले ‘फर्लो स्किम’ मा रहेर सरकारबाट तलब लिइरहेका छन् ।
अहिलेको लागि आउँदो जुन महिनाको अन्त्यसम्मका लागि लागू यो स्किम आवश्यकताअनुसार बढाइने सरकारले बताएको छ । जसअनुसार यो स्किमअन्तर्गतको राहतकै लागि बेलायत सरकारको कमसेकम ४० विलियन पाउण्ड खर्च हुनेछ ।
यसैबीच, सरकारले यो स्किम क्रमिक रुपमा कसरी हटाउँदै जाने भन्नेबारे तयारी पनि शुरु गरेको छ । अर्थमन्त्री ऋषि सुनाकले फरक फरक क्षेत्रमा कार्यरत कामदारहरुलाई चरणबद्ध रुपमा यो स्किमबाट हटाउने उपायबारे योजना बनाइरहेका छन् ।
‘फर्लो स्किम’ अन्तर्गत काममा नजाँदा पनि सरकारबाटै तलब आउने कारण कतिपय मानिसहरु फेरि काममा जान ईच्छुक नहुने खतरातर्फ पनि सरकार सचेत रहेको बताइएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५