कोरोना संक्रमणबाट बेलायतका अग्रज समाजसेवी गुरुङको मृत्यु



स्वर्गीय नारायण कोन्मे गुरुङ
लण्डन । कोरोना भाइरस संक्रमणबाट बेलायतको नेपाली समुदायका एक अग्रज समाजसेवी नारायण कोन्मे गुरुङको मृत्यु भएको छ ।
७५ वर्षीय पूर्व गोर्खा गुरुङको सोमबार अपरान्ह सवा ४ बजे ननिटनको ‘जर्ज इलिएट अस्पताल’ मा उपचारकै क्रममा मृत्यु भएको उनका आफन्त समेत पर्ने नेपाली समाज यूकेका अध्यक्ष रिटायर्ड लेफ्टिनेन्ट चन्द्र गुरुङले नेपाली लिंकलाई जानकारी गराए ।
स्वर्गीय गुरुङमा अस्पतालले कोरोनाको संक्रमण पुष्टी गरेको उनले जानकारी दिए । यसअघि कुनै ‘मेडिकल कन्डिसन’ नभएका गुरुङलाई श्वासप्रश्वासमा समस्या भएपछि अप्रिल २६ तारिखमा अस्पताल भर्ना गरिएको थियो ।
अस्पतालमा उपचारको क्रममा गुरुङलाई ‘अक्सिजन मास्क’ दिइएको थियो । तर डाक्टरहरुले उनको फोक्सोमा गम्भीर असर परेको र अवस्था निकै कमजोर रहेको जनाउँदै ‘भेन्टिलेटर’ मा राखेका थिएनन् ।
पर्वत जिल्लाको थाना, मौला स्थायी घर भएका स्वर्गीय गुरुङ परिवारसहित बेलायत बस्दै आएका थिए । उनका पत्नी, दुई छोरा र एक छोरी सबै बेलायतमै छन् । एक छोरा रेडिङमा छन् भने अर्का छोरा र छोरी ननिटनमै बस्दै आएका छन् ।
सामाजिक रुपमा समेत क्रियाशिल स्वर्गीय गुरुङ बेलायतस्थित विभिन्न संघसंस्थामा आबद्ध थिए । एनआरएनए यूके, तमुधिं यूके जस्ता संस्थामा सल्लाहकार रहेका उनी चारभञ्ज्याङ तमु समाज यूकेका संस्थापक र वर्तमान संरक्षक हुन् । चारभञ्ज्याङ तमु समाजको अन्तर्राष्ट्रिय समन्वय परिषदका सल्लाहकार समेत रहेका गुरुङ बेलायतस्थित कोने (घोताने/घोण्डे) समाज यूकेका संस्थापक वरिष्ठ सल्लाहकार थिए ।
वि सं २०२० साल ताका बेलायती सेनामा भर्ती भएका उनी झण्डै ५ वर्षपछि बेलायत सरकारले सैनिक संख्या कटौती गर्न थालेपछि नेपाल फर्किएका थिए । भर्ती हुनुअघि ८ कक्षासम्मको मात्र अध्ययन गरेका गुरुङले अवकाशपछि नेपाल फर्किएर एमएसम्मको अध्ययन पूरा गरेका थिए ।
डिग्री हासिल गरेपछि ७ वर्षसम्म स्थानीय विकास मन्त्रालयमा ‘सेक्सन अफिसर’ का रुपमा काम गरेका थिए भने केहि वर्ष आफ्नो गाउँका विद्यालयमा अध्यापन समेत गरेका थिए । त्यसअघि क्याम्पस अध्ययनका बेला उनी विद्यार्थी राजनीतिमा समेत सक्रिय बनेका थिए ।
‘उमेर बढ्दै जाँदा पनि सधैं तन्दुरुस्त, फूर्तिलो र नयाँ-नयाँ सोच राख्ने व्यक्ति हुनुहुन्थ्यो’, चारभञ्जयाङ तमु समाजका पूर्व अध्यक्ष समेत रहेका रिटायर्ड लेफ्टिनेन्ट चन्द्र गुरुङ सम्झिन्छन्, ‘कल्याणकारी भावना र बौद्धिक व्यक्तित्वका धनी उहाँ बेलायतमा धेरै संघसंस्थाको अभिभावक जस्तै हुनुहुन्थ्यो ।’
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५