कोरोनाले निधन भएका एकाउन्टेन्ट श्रेष्ठ सहकर्मीहरुको स्मृतिमा



स्वर्गीय एकाउन्टेन्ट ध्रुवकुमार श्रेष्ठ
लण्डन । कोरोना संक्रमणका कारण झण्डै दुई साताअघि लण्डनमा ज्यान गुमाएका एकाउन्टेन्ट ध्रुवकुमार श्रेष्ठप्रति बेलायतमा कार्यरत नेपाली एकाउन्टेन्टहरुले श्रद्धाञ्जली अर्पण गरेका छन् ।
‘नेप्लिज एकाउन्टेन्ट्स एशोसिएसन (एनएए) यूके’ आबद्ध एकाउन्टेन्टहरुले स्वर्गीय श्रेष्ठको स्मृतिमा अनलाइन माध्यमबाटै सामूहिक रुपमा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
त्यस अवसरमा सहभागीहरुले एशोसिएसनका एक प्रभावशाली सदस्य समेत रहेका श्रेष्ठको अल्पायुमै भएको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनीहरुले एक मिलनसार र पेशाप्रति बफादार सहकर्मीका रुपमा श्रेष्ठलाई सम्झिए ।
बैठकमा सहभागी लण्डनस्थित वरिष्ठ चार्टर एकाउन्टेन्ट एलएन पाण्डेले भने, ‘बेलायतमा कार्यरत हामी सबै नेपाली एकाउन्टेन्टहरुले आफ्नो परिवारकै सदस्य गुमाएजस्तो महसुस गरेका छौं । साथीहरुमाझ निकै मिलनसार, दयालु र सहयोगी उहाँको व्यक्तित्व हामीहरुमाझ सधै खट्किरहनेछ ।’
एशोसिएसनले स्वर्गीय श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनको परिवारमा संस्थाको तर्फबाट समवेदना समेत व्यक्त गरेको छ ।
‘ध्रुवजी एकजना दयालु मानिस र सफल प्रोफेसनल हुनुहुन्थ्यो । उहाँले समाजको लागि धेरै योगदान गर्न बाँकी नै थियो, तर उहाँलाई दैवले निकै चाँडै चुंडेर लगेको छ’, एशोसिएसनबाट जारी एक वक्तव्यमा भनिएको छ ।
लण्डनमा एक एकाउन्टेन्सी फर्म सञ्चालन गर्दै आएका ४७ वर्षीय स्वर्गीय श्रेष्ठ व्यवसायिक रुपमा निकै सफल मानिन्थे । उनी पत्नी र तीन छोराछोरीका साथ साउथ ईष्ट लण्डनमा बस्दै आएका थिए ।
श्रेष्ठको निधनका बेला उनका वृद्ध बाबुआमा समेत लण्डनमै थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५