फर्किएलगत्तै जोन्सनले भने: जोखिम बाँकी रहँदै ‘लकडाउन’ हट्दैन



बेलायती प्रधानमन्त्री बोरिस जोन्सन
लण्डन । कोरोना भाइरस संक्रमणबाट निको भएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सन सोमबारदेखि काममा फर्किएका छन् ।
बेलायतमा पाँच सातादेखि कायम ‘लकडाउन’ खुकुलो पार्दै जान तथा कोरोना भाइरस परीक्षणको क्षमता बढाउनका निम्ति सरकारमाथि दबाब चुलिएका बेला प्रधानमन्त्री जिम्मेवारीमा फर्किएका हुन् ।
तीन सातापछि आइतबार बेलुका ‘डाउनिङ स्ट्रिट’स्थित कार्यालय फर्किएका उनले सोमबार बिहान सम्बोधन गर्दै देशबासीलाई धन्यवाद ज्ञापन गरेका छन् ।
देशले विश्वयुद्धपछि सबैभन्दा ठूलो समस्याको सामना गरिरहेको भन्दै प्रधानमन्त्रीले यस कठिन समयमा आआफ्नो तर्फबाट सहयोगी भूमिका खेल्ने सबैको योगदानको कदर गरेका छन् ।
प्रधानमन्त्री जोन्सनले तत्काल लकडाउन हटाउने वा खुकुलो पार्ने सम्भावना भने नरहेको स्पष्ट पारेका छन् ।
‘मलाई थाहा छ यो कठिन छ । म हाम्रो अर्थतन्त्र सकेसम्म छिटो सुचारु होस् भन्ने चाहन्छु’, उनले भने, ‘तर म सबै बेलायती जनताले अहिलेसम्म गरेको त्यागलाई खेर जान र महामारीको दोस्रो पिक आउन दिन चाहन्न ।’
अहिले नै ‘लकडाउन’ लचिलो बनाउँदा दोस्रो ‘पिक पोइन्ट’को खतरा हुने भन्दै प्रधानमन्त्री जोन्सनले उक्त जोखिम उठाउन आफू तयार नरहेको स्पष्ट पारे ।
साथै, स्थितिमा सुधार आएपछि ‘लकडाउन’ कसरी खुकुलो पार्दै जाने भन्नेबारे सरकारले पारदर्शी रुपमा सबैलाई जानकारी गराउँदै जाने पनि उनले बताए ।
गत मार्च २७ मा कोरोनाको संक्रमण देखिएका प्रधानमन्त्री जोन्सनको अवस्था कमजोर हुंदै जाँदा अप्रिल ५ मा अस्पताल भर्ना भएका थिए । एक सातासम्म लण्डनको सेन्ट थोमस अस्पतालमा बसेका उनलाई तीन रातसम्म ‘इन्टेसिभ केय युनिट’ (आइसियू) मै राखिएको थियो । अप्रील १२ मा डिस्चार्ज भएका उनी त्यसयता बकिंगहमशायरस्थित आफ्नो सरकारी निवासमै आराम गर्दै आएका थिए ।
जोन्सन कामबाहिर रहेको तीन साताको अवधिमा प्रधानमन्त्रीको जिम्मेवारी सरकारका परराष्ट्रमन्त्री डोमिनिक राबले सम्हाल्दै आएका थिए ।
हेरौं प्रधानमन्त्रीको सम्बोधनको भिडियो (स्रोत: बिबिसी)
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५