कोरोनाबाट बेलायतमा ३३ नेपालीको मृत्यु भएको पुष्टी



नेपाली दूतावासबाट २४ जना तथा गोर्खा वेल्फेयर ट्रस्टबाट थप ७ र नेपाली लिंकको स्रोतबाट अरु २ जना जना गरी बेलायतमा कुल ३३ जना नेपालीको कोरोनाबाट मृत्यु भएको पुष्टी भएको छ ।
लण्डन । बेलायतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या ३३ पुगेको छ ।
लण्डनस्थित नेपाली दूतावास र ‘गोर्खा वेल्फेयर ट्रस्ट’बाट पुष्टी भएका तथा नेपाली लिंकलाई प्राप्त जानकारीका आधारमा शनिबारसम्ममा कुल ३३ जना नेपालीको कोरोनाका कारण मृत्यु भएको पुष्टी भएको हो ।
लण्डन दूतावासले शनिबार बिहानसम्म बेलायतमा २४ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको जनाएको छ । त्यस्तै, ‘गोर्खा वेल्फेयर ट्रस्ट’ले १८ जना भूतपूर्व गोर्खाको कोरोनाबाट मृत्यु भएको बताएको छ । ‘गोर्खा वेल्फेयर ट्रस्ट’को सूचीमा समावेश ७ जना पूर्व गोर्खाको नाम दूतावासको सूचीमा छैन ।
दूतावास र ‘गोर्खा वेल्फेयर ट्रस्ट’को सूचीका आधारमा बेलायतमा ३१ जना नेपालीले कोरोनाबाट ज्यान गुमाएको देखिएको छ ।
तर दूतावास र ‘गोर्खा वेल्फेयर ट्रस्ट’ दुवैका सूचीमा नरहेका थप दुई नेपालीको कोरोनाबाटै मृत्यु भएको जानकारी नेपाली लिंकसंग छ । हालै ननिटनमा निधन भएका धनमाया राई र पहलमान राई दुवैलाई कोरोनाको संक्रमण पुष्टी भएको जानकारी ननिटनमै बस्ने गोर्खा भेट्रान एशोसिएसन यूकेका महासचिव भिम सारुले नेपाली लिंकलाई गराएका छन् ।
अहिलेसम्म बेलायतमा कोरोनाबाट मृत्यु भएका नेपालीमा तीन जना महिलाबाहेक अरु सबै पुरुष छन् । त्यस्तै, मृतकहरुमा दुई दर्जन भूतपूर्व गोर्खा सैनिक नै छन् ।
बेलायतमा कोरोनाका कारण मृत्यु भएका नेपालीको संख्या बाहिर सार्वजनिक भएभन्दा पनि अझै बढि हुन सक्ने समेत अनुमान गरिएको छ ।
उता, बेलायतमा कोरोनाबाट सयौं नेपाली संक्रमित भएको आँकलन गरिएपनि यकिन तथ्यांक भने उपलब्ध भएको छैन ।
एनआरएनए यूकेले संकलन गरेको विवरणअनुसार अहिलेसम्म ३८ जना संक्रमित नेपाली बेलायतका विभिन्न अस्पतालमा भर्ना भएका छन् । जसमध्ये २७ जना उपचारपछि घर फर्किसकेका छन् र ११ जना अझै पनि उपचारकै क्रममा छन् । कोरोनाको लक्षण देखिएर घरमै आइसोलेसनमा बस्ने नेपाली पनि करिब डेढ सय छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५