लण्डनमा कोरोनाको लक्षण देखिएका पूर्व गोर्खाको ह्दयघातबाट निधन



मृतक ५४ वर्षीय पूर्व गोर्खा शंकर गुरुङ ।
लण्डन । कोरोना भाइरस संक्रमणको लक्षण देखिएका एक भूतपूर्व गोर्खाको ह्दयघातबाट निधन भएको छ ।
लण्डनको नर्थहोल्टमा बस्दै आएका ५४ वर्षीय शंकर गुरुङको विहीबार साँझ कामबाट फर्किदै गर्दा बाटोमै निधन भएको ‘क्वीन्स गोर्खा सिग्नल्स एशोसिएसन यूके, साउथ’का पब्लिक रिलेसन अफिसर ‘रिटायर्ड लेफ्टिनेन्ट’ थमप्रसाद गुरुङले जानकारी दिए ।
‘२११६६८४८’ आर्मी नम्बर भएका मृतक गुरुङ ‘क्वीन्स गोर्खा सिग्नल्स’का अवकाशप्राप्त सैनिक हुन् ।
मधुमेह, उच्च रक्तचाप लगायत समस्या रहेका उनी पछिल्लो १० दिनदेखि बिरामी रहेको बताइएको छ ।
‘उहाँको स्वास्थ्यमा पहिलेदेखि नै केहि समस्या थिए । १०/१२ दिनदेखि लहरेखोकीसहित कोरोना संक्रमणसंगै मिल्दाजुल्दा अरु समस्या पनि थपिएका रहेछन्’, रिटायर्ड लेफ्टिनेन्ट गुरुङले भने, ‘घरमा संगै बस्ने साथीहरुले आराम गर्न सल्लाह दिंदादिंदै पनि उहाँ भने प्यारासिटामोल खाँदै काममा गइरहनु भएको रहेछ ।’
उनका अनुसार लण्डनको ह्वाइट सिटी क्षेत्रमा सेक्युरिटीमा कार्यरत गुरुङ विहिबार काम सकेर फर्किंदै गर्दा बेलुका साढे ७ बजेतिर घरभन्दा २ सय मिटरको दुरीमा बाटोमै ‘कोल्याप्स’ भएका थिए ।
उनलाई ढलिरहेको देखेर बाटोमा हिंड्नेहरुले खबर गरेपछि आइपुगेको प्रहरीले एम्बुलेन्स बोलाएको थियो । एम्बुलेन्समा आएको ‘प्यारामेडिक टिम’ले उनलाई तत्काल नै मृत घोषणा गरेको थियो । एम्बुलेन्स आइपुग्दा गुरुङ ‘कोल्याप्स’ भएर ढलेको झण्डै १ घण्टा हुन लागिसकेको थियो ।
यसअघि उनलाई कोरोना संक्रमणका लक्षणहरु देखिएपनि अस्पतालबाट पुष्टी हुन भने अझै बाँकी छ ।
गोरखा जिल्लाको थालाजुंग, खमारी (हाल सिरानचोक गाउँपालिका) पुर्ख्यौली भएका गुरुङको परिवार पछि चितवन सरेको थियो ।
गुरुङको असामयिक निधनप्रति ‘क्वीन्स गोर्खा सिग्नल्स एशोसिएसन यूके, साउथ’ ले गहिरो दुख व्यक्त गरेको छ । ‘हाम्रै संस्थाको संस्थापक कोषाध्यक्ष हुनुहुन्थ्यो । उहाँको दम्पतीले नै संस्थाको लागि धेरै दुख र मेहनत गर्नुभएको छ’, संस्थाका पब्लिक रिलेसन अफिसर लेफ्टिनेन्ट गुरुङले सम्झिए, ‘उहाँको मिलनसार व्यक्तित्व र काम तथा संस्थाप्रतिको समर्पण उदाहरणीय थियो ।’
मृतक गुरुङ चितवन एड ट्रस्ट (क्याट) यूकेका समेत सह-कोषाध्यक्ष हुन् । क्याट यूके अध्यक्ष जीवन सेनले पनि संस्थाको तर्फबाट मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५