कोरोना संक्रमणबाट बेलायतमा ३२ वर्षीया नेपाली युवतीको निधन



मृतक ३२ वर्षीया बिमा नाछिरिंग राई
लण्डन । बेलायतको ननिटनमा एक ३२ वर्षीया नेपाली युवतीको कोरोना संक्रमणका कारण निधन भएको छ ।
ननिटनको ‘जर्ज इलियट अस्पताल’मा उपचारका क्रममा रहेकी बिमा नाछिरिंग राईको गत मंगलबार बिहान करिब साढे ११ बजे निधन भएको स्थानीय समाजसेवी एवम् ‘ब्रिटिश गोर्खा भेट्रान एशोसिएसन’का महासचिव भिम सारुले जानकारी दिए ।
मृतक राई लामो समयदेखि मृगौलासम्बन्धी समस्याबाट पीडित रहेको उनको परिवारलाई उद्धृत गर्दै समाजसेवी सारुले बताए ।
करिब एक साताअघि श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालले उनलाई कोरोनाको संक्रमण भएको पुष्टी गरिसकेको थियो ।
मृतक राई अविवाहित थिइन् । उनी आफ्ना बाबुआमा र बहिनीका साथमा बेलायत बस्दै आएकी थिइन् । उनी गत वर्ष मात्रै बेलायत आएकी थिइन् । उनका बाबु डाकबहादुर राई पूर्व गोर्खा हुन् ।
नेपालमा खोटाङ जिल्लाको ऐंसलुखर्क गाउँपालिका-१, राख पुर्ख्यौली भएको राई परिवारको बसोबास पछिल्लो समय धरान-१७, आदर्श विकास टोलमा थियो ।
बेलायतको ननिटन क्षेत्रमा कोरोना संक्रमणका कारण निधन हुने राई पाँचौं नेपाली हुन् । अहिलेसम्म सार्वजनिक भएअनुसार बेलायतभर कोरोनाबाट मृत्यु हुने नेपाली झण्डै २ दर्जन पुगेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५