व्यापारको चिन्ता छोडेर सहयोगमा जुट्दै नेपाली रेष्टुरेन्ट


लण्डन । स्कटल्याण्डका रेष्टुरेन्ट व्यवसायी काशीराम भण्डारी मंगलबार र बुधबार दिनभर नै व्यस्त रहे । कोरोना महामारीका कारण जारी लकडाउनका बेला रेष्टुरेन्टको व्यवसाय बन्द रहँदा समेत उनी भने कोरोनाविरुद्ध जुधिरहेका ‘फ्रन्टलाइनर’हरुलाई निशुल्क खाना वितरण गर्दै थिए ।
काउडेनविथस्थित ‘सिम्ला प्यालेस रेष्टुरेन्ट’का सञ्चालक भण्डारीले मंगलबार स्थानीय केल्टी कम्युनिटी सेन्टरमा ६०, जीपी सर्जरीमा २० र काउडेनविथ प्रहरी स्टेसनमा १० जना गरी कुल ९० जनाको लागि खाना पुर्याए । बुधबार फेरि फाइफको ‘क्वीन मार्केट अस्पताल’मा कार्यरत डाक्टर, नर्स , कर्मचारीसहित ५५ जनालाई खाना वितरण गरे । शुक्रबार अर्को कम्युनिटी सेन्टरका थप ६० जनालाई खाना बाँड्ने उनको योजना छ ।
महामारीको बेलामा पनि दिनरात खटिएका स्वास्थ्यकर्मी र कर्मचारीलाई धन्यवादस्वरुप खाना वितरण गरेको भण्डारीले नेपाली लिंकसंग बताए । हालै नेपालबाट आएका दुई विद्यार्थीले आफ्नो कोठाभाडा तिर्न असमर्थ भयौं भनेपछि उनीहरुको एकएक महिनाको कोठाभाडा समेत सहयोग गरेको उनले सुनाए ।

स्कटल्याण्डको ‘सिम्ला प्यालेस रेष्टुरेन्ट’का सञ्चालक काशिराम भण्डारी स्थानीय अस्पतालमा खाना वितरण गर्दै
कोरोना भाइरस महामारीले गर्दा उत्पन्न संकटको यो घडीमा बेलायतका कैयौं नेपाली रेष्टुरेन्ट व्यवसायीहरुले सहयोगको हात अघि बढाएका छन् ।
‘लकडाउन’का कारण रेष्टुरेन्ट बन्द रहेका बेला व्यापारको चिन्ता छोडेर उनीहरु अरुको सहयोगमा जुटिरहेका छन् । स्थानीय डाक्टर, नर्स, जिपी स्टाफ, प्रहरी लगायतका फ्रन्टलाइनरहरुको योगदानको लागि सम्मान जनाउँदै उनीहरुले निशुल्क खाना उपलब्ध गराएका छन् ।
स्कटल्याण्डमै रेष्टुरेन्ट व्यवसाय गर्दै आएका एनआरएनए यूके उपाध्यक्ष मोहन कार्कीले पनि केहि साता अघि नै स्थानीय अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई खाना वितरण गरेका थिए । फलक्रिकस्थित ‘मेक्सिकन टेक्स मेक्स रेष्टुरेन्ट’का सञ्चालक कार्कीले खाना बोकेर ‘फोर्थ भ्याली हस्पिटल’सम्मै पुर्याएर छोडे ।
‘खाना त केबल माध्यम मात्र हो । अहिलेको असहज अवस्थामा पनि हामी सबैको लागि खटिइरहेका फ्रन्टलाइनरहरुप्रति सम्मान देखाउने हाम्रो कोशिस हो’, कार्कीले भने ।

एनआरएनए यूके उपाध्यक्ष मोहन कार्कीले पनि आफ्नो रेष्टुरेन्टबाट ‘एनएचएस स्टाफ’लाई निशुल्क खाना बाँडेका छन् ।
बेलायतकै लिंकनशायरको बोर्न भन्ने ठाउँमा रहेको ‘गोर्खा ९१’ रेष्टुरेन्टले पनि स्थानीय जीपी र अस्पताल गरी करिब साढे २ सय ‘एनएचएस स्टाफ’लाई खाना खुवाएको छ ।
‘लकडाउन’ शुरु भएकै साता स्थानीय जीपीमा करिब ५० जनालाई खाना उपलब्ध गराएको रेष्टुरेन्टले केहि दिनपछि ‘पिटरबरो सिटी अस्पताल’मा २ सय जनालाई खाना बाँडेको सञ्चालक कृष्ण लुईंटेलले बताए ।
उनले भने, ‘हाम्रो तर्फबाट गर्न सक्ने अरु कुनै ठूलो सहयोग केहि थिएन । सबैतिर बन्द रहेको अवस्थामा हामीले अस्पतालमै लगेर खाना पुर्याउँदा स्वास्थ्यकर्मीहरु पनि साँच्चीकै खुशी भएको पायौं ।’

लिंकनशायरको बोर्नमा रहेको ‘गोर्खा ९१’ रेष्टुरेन्टले पनि करिब साढे २ सय ‘एनएचएस स्टाफ’लाई खाना खुवाएको छ ।
एनआरएनएका निवर्तमान केनद्रीय उपाध्यक्ष कुल आचार्य सञ्चालक रहेको ‘होली काउ ग्रुप’ले पनि एनएचएस स्टाफलाई निशुल्क खाना वितरण गरेको छ ।
‘होली काउ’ले लण्डनको ‘ह्यामरस्मिथ अस्पताल’मा कार्यरत स्वास्थ्यकर्मीहरुको लागि अस्पतालमै लगेर खाना बाँडेको थियो ।
‘यो संकटका समय सबैले आआफ्नो ठाउँबाट जति सकिन्छ, सहयोग गर्ने हो । हाम्रो सानो सहयोगबाट यस महामारीसंग फ्रन्टलाइनबाटै जुधिरहेका स्वास्थ्यकर्मीहरुको मनोबल उच्च हुन्छ भने त्यो नै ठूलो कुरा हो’, आचार्यले भने ।

‘होली काउ ग्रुप’ ले पनि ‘एनएचएस स्टाफ’ लाई निशुल्क खाना वितरण गरेको छ ।
यी त केबल केहि उदाहरण हुन् । बेलायतमा सञ्चालित थुप्रै नेपाली रेष्टुरेन्टहरुले अहिले स्वास्थ्यकर्मी तथा अत्यावश्यक सेवामा खटिएका ‘फ्रन्टलाइनर’हरुप्रति सम्मान जनाउँदै निशुल्क खाना वितरण गरिरहेका छन् ।
महामारीले निम्त्याएको संकटपूर्ण अवस्थामा व्यवसायिक स्वार्थबाट माथि उठेर ‘फ्रन्टलाइनर’हरुको सम्मान र हौसलाका लागि नेपाली व्यवसायीबाट भएका यस्ता सहयोग प्रशंसाका लायक छन् । जसले स्थानीय बेलायती समुदायमा नेपालीहरुप्रतिको सम्मान बढाउने मात्र नभइ दुई समुदायबीचको सम्बन्ध बिस्तारमा पनि टेवा पुरयाउने समेत अपेक्षा गर्न सकिन्छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५